MENU

फ्रान्सबाट आएकी एक नेपाली युवतीमा कोरोना पोजेटिभ देखियो

काठमाडौंमा एक जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। स्वास्थ्य  तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज मन्त्रालयमा आयोजना गरेको आकस्मिक  पत्रकार सम्मेलनमा उक्त जानकारी गराएका हुन्।

संक्रमित बिरामी फ्रान्सबाट आएकी १९ वर्षीया नेपाली छात्रा हुन्। घरमै क्वारेन्टाइनमा रहेकी उनलाई आइतबार बेलुका काठमाडौं टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ल्याइएको मन्त्री ढकालले बताए।

उनको उपचार भइरहेको शुक्रराज ट्रपिकल अस्पतालका ट्रपिकल मेडिसिनका प्रमुख  कन्सलट्यान्ट डा. अनुप बाँस्तोलाले जानकारी दिए।

मन्त्री ढकालका अनुसार, उनको परिवार र घरमा क्वारेन्टाइनमा रहँदा सम्पर्कमा भएकालाई  परीक्षण गर्ने र आइसोलेसनमा राख्ने काम हिजो (आइतबार) देखि नै शुरु भएको छ। त्यस्तै,  उनीसँगै आएका अरुको पनि खोजी गरेर परीक्षण गर्ने प्रयास शुरु भइसकेको उनले बताए।

यसअघि नेपालमा गएको ९ माघमा परीक्षण गर्दा एक व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो, जो उपचारपछि निको भइसकेका छन्।