MENU

बजेट अधिवेशनको पहिलो बैठक प्रतिपक्षको आक्रोस, सत्तारुढ दलकै नेता पनि असन्तुष्ट

संघीय संसदको छैटौ अधिवेशन अन्र्तगत शुक्रबारदेखि सुरु भएको बजेट अधिवेशनमा प्रतिपक्ष दलका सांसदले सरकारको कडा विरोध गरेका छन् ।

कोरोना भाइरसको संक्रमणको त्रासका बिच सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकमा प्रतिपक्ष दलका सांसदले सरकारको आलोचना गरेका छन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिंगो देश कोरोना भाइरसबाट आतंकित भइरहेका बेला सरकारले लोकतान्त्रिक मूल्य, मान्यता एवं संविधानको मूल भावना विपरीत अध्यादेश जारी गरेको भन्दै सरकारको चर्को आलोचना गरे । असान्र्दभिक अध्यादेश जारी गरेर सरकारले अलोकतान्त्रिक काम गरेको उनको टिप्पणी छ ।

उनले सबैको ध्यान कोरोना विरुद्धको लडाईमा एक भएका बेला दल विभाजनको अध्यादेश ल्याइनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र हुनु नियोजित षड्यन्त्र भएको दावी गरे ।

जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी ओली नेतृत्वको सरकारले, कोरोना संकट समाधानमा केन्द्रीत हुनुपर्ने सरकार सांसद अपहरण तथा पार्टी फुटाउने काममा लागेको आरोप लगाए । सत्ताको दुरुपयोग गर्दै अनावश्यक अलोकतान्त्रिक गतिविधिमा संलग्न भएको भन्दै उनले प्रधानमन्त्री केपी ओलीको राजिनामा समेत मागे ।

यस्तै जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले सरकार २ तिहाइको भइपनि दुई कौडीको काम नगरेको भन्दै, बलियो सरकारबाट धेरै अपेक्षा गरेपनि जनताले केही पनि नपाएको दावी गरे ।

यता सत्तापक्ष दल नेकपा संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले कुनै पनि नाममा अपराधिक काम हुन नहुने बताउदै सांसद अपहरण प्रकरणमा असन्तुष्टि ब्यक्त गरे ।