MENU

बुवाआमाको भिषा आवेदन सम्बन्धमा बारम्बार सोधिने केही प्रश्नहरू र तिनका जवाफ

संजीव पाण्डे

अष्ट्रेलियामा स्थायी रूपमा बस्ने नेपालीहरूको संख्या बढेसँगै बुवाआमा र अन्य आफन्तहरूलाई पनि घुम्न बोलाउने क्रम बढ्न थालेको छ।  बुवाआमालाई बोलाउने सम्बन्धी प्रकृयाका बारेमा धेरै प्रश्नहरू आउने गरेकाले ती प्रश्नहरूको जवाफ यहाँ दिने प्रयास गरिएको छ। 

स्थानिय काउन्सिलकाे कार्यक्रममा सहभागि नेपाली अभिभावक Photo: Nepalese Australian

 

१. अष्ट्रेलियामै आवेदन दिने कि भारतमा ?

 

बुवाआमालाई टुरिस्ट भिषा स्ट्रिममा  बोलाउने कि फ्यमिली स्पोन्सर्ड भिषामा बोलाउने भन्ने निर्णय पहिले गर्नुपर्दछ। टुरिस्ट स्ट्रिममा बोलाउने हो भने नयाँ दिल्लीमा आवेदन दिनुपर्दछ भने फ्यामिली स्पोन्सर्ड अन्तर्गत  बोलाउने हो भने अष्ट्रेलियामै आवेदन दिन सकिन्छ। फ्यामिली स्पोन्सर्ड भिषामा बोलाउनको निम्ति  स्पोन्सर अष्ट्रेलियन नागरिक वा स्थायी बासिन्दा हुनु जरूरी छ। हिजोआज यी दुबै थरी भिषाको निम्ति  अनलाइनमार्फत नै आवेदन दिन मिल्ने व्यवस्था छ।   

 

२. मेरो बुवाआमा तीन महिनाको लागि मात्र आउन लाग्नुभएको हो। उहाँहरू दुवैजना स्वस्थ नै हुनुहुन्छ। के मैले उहाँहरूको स्वस्थ  बीमा गर्नु अनिवार्य

 

Nepalese grandparents at local park in Sydney
सिड्रनीकाे एक पार्कमा समय बिताउदै नेपाली अभिभावकहरू Photo: NepaleseAustralian

 

भिषामा यसलाई अनिवार्य शर्तको रूपमा राखिएको छैन भने पनि बीमा गर्नु धेरै जरूरी छ। बुवाआमाको बीमा नभएको र उहाँहरू अस्वस्थ भई अस्पतालमा लामो समय रहनुपर्दा ठूलो खर्च व्यहोर्नुपरेका धेरै उदाहरणहरू छन् । 

 

३. बुवाआमा अष्ट्रेलियामा आइसक्नुभए पछि उहाँहरूको भिषा पुन: थप्न मिल्छ कि मिल्दैन

 

यदि  उहाँहरूको भिषामा ‘अरू थप बस्न नपाइने’ भन्ने शर्त राखिएको छैन भने सामान्यतया: उहाँहरूको भिषा थप्नका लागि आवेदन दिन मिल्छ। 

 

४. मेरो बुवा आमाको भिषामाअरू थप बस्न नपाइनेभन्ने शर्त छ। तर मेरी श्रीमती बिरामी भएर अस्पतालमा छिन् बुवाआमालाई अरू तीन महिनाको लागि भिषा थप्न चाहन्छु। यसको लागि मैले के गर्नुपर्छ

 

तपाईंको बुवा आमाको भिषामा भएको ‘अरू थप बस्न नपाईने’ भन्ने शर्त हटाउनका लागि पहिले आवेदन दिनुपर्दछ। मेडिकल प्रमाण, डाक्टरको सिफारिस आदि संलग्न गरेर आवेदन दिँदा यो शर्त हट्न सक्छ र उहाँहरूले पुन: भिषाको लागि आवेदन दिन सक्नुहुन्छ। 

स्थानिय काउन्सिलको कार्यक्रममा सहभागि नेपाली अभिभावक Photo: Nepalese Australian
 ५. मैले गत वर्ष बुवाआमालाई अष्ट्रेलिया ल्याउनको लागि भिषा आवेदन गरेको थिएँ; तर दुर्भाग्यवश उहाँहरूको भिषा अस्वीक्रित भयो। यस पटक  दसैँमा उहाँहरूलाई पुन: बोलाउने बारेमा सोच्दैछु। के पोहोर अस्वीक्रित भएको कारणले यस पटक पनि भिषा पाउन गार्‍हो हुनसक्छ?

 

पहिलो कुरो, पोहोर के कारणले अस्वीक्रित भएको हो, त्यो हेर्नु पर्दछ। जुन कारणले अस्वीक्रित भएको हो, यस पटक आवेदन दिँदा त्यो कारणलाई  चित्तबुझ्दो ढंगले सम्बोधन गर्नुपर्दछ। दोस्रो, पोहोर र अहिलेमा केही फरक छन् भने त्यसले पनि फरक पार्दछ। जस्तै, पोहोर तपाईं अस्थायी भिषामा हुनुहुन्थ्यो र अहिले तपाईं स्थायी भिषामा हुनुहुन्छ भने यसले पनि फरक पार्नसक्छ। 

 

६. मैले बुवाआमालाई  यहीँबाट स्पोन्सर गरी बोलाउनु पर्यो भने कति धरौटी राख्नुपर्दछ?

 

कति धरौटी माग्ने भन्ने कुरा केस अफिसरको निर्णयमा भर पर्दछ। कहिलेकाहीँ केस अफिसरले  बिना धरौटी पनि भिषा दिने गर्दछन्। धरौटी माग्दा भने  भिषा उल्लंघनको जोखिम हेरी प्रति आवेदक बढीमा पन्ध्र हजार डलरसम्म माग्ने गरेको पाइन्छ। 

 

यस स्तम्भमा दिइएका जानकारी पूर्ण, अद्यावधिक सबैका लागि उपयुक्त नहुनसक्छन्। कुनै निष्कर्षमा पुग्नु वा कुनै पनि महत्त्वपूर्ण निर्णय गर्नुभन्दा पहिले अध्यागमन विभागको वेबसाइट, माइग्रेशनसम्बन्धी परामर्श दिने वकील वा रजिस्टर्ड माइग्रेशन एजेन्टबाट आवश्यक जानकारी लिनु उचित हुन्छ। लेखक रजिष्टर्ड माइग्रेशन एजेन्ट (MARN 1172267) हुन्। तपाईंका पनि कुनै जिज्ञासा छन् भने [email protected] मा पठाउन सक्नुहुन्छ। तपाईंको परिचय गोप्य राखिनेछ।  –सम्पादक