MENU

बेलायतमा ७ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि

गैरआवासीय नेपाली संघ एनआरएनए युकेले बेलायतमा हालसम्म ७सय ४७ जना नेपालीमा कोरोना संक्रमण भएको जनाएको छ ।

बेलायतका गैरआवासीय नेपालीमा भएको कोरोना संक्रमणसम्बन्धी एक विस्तृत तथ्याङ्क सार्वजनिक गर्दै एनआरएनए युकेले, अप्रिल १३ तारिख अर्थात बुधबारसम्मको तत्थ्याङ्क अनुसार बेलायतमा ७ सय ४७ जना नेपालीमा कोरोनाको संक्रमण भएको उल्लेख गरेको हो ।

संक्रमित मध्ये ६१ जनाको कोरोनाको संक्रमणबाट निधन भएको र १ सय १५ जनालाई अस्पताल भर्ना गरिएको र ती मध्ये १७ जना नेपालीहरु अहिले पनि अस्पतालमा उपचार गराइरहेको तत्थ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी ३७ जना कोरोनालाई जितेर उपचारपछि घर फर्किएका छन् । कोरोनाको लक्षण देखा परेर ६ सय ३२ जना घरमा नै आइसोलेसनमा बसेका भएपनि ५ सय ७० जनालाई ठिक भैसकेको र ६२ जना अझै आईसोलेसनमा रहेको बताइएको छ।

एनआरएनए यूकेले बेलायतमा अप्ठेरोमा परेका नेपालीहरुको सहयोगका लागि संघमार्फत २५ डाक्टर, २४ नर्स र १ सय २ जना स्वयमसेवक गरी कुल १ सय ५१ जना खटिएको बताएको छ ।

त्यस्तै, संघले समस्यामा पर्ने विद्यार्थीहरुलाई राहतदेखि बेलायतका विभिन्न क्षेत्रस्थित भुपू गोर्खा र वृद्धवृद्धा लगायतलाई प्राथमिकतामा राखी मास्क, स्यानिटाइजर, पञ्जा लगायतका सुरक्षा सामग्री वितरण गरिरहेको छ ।

यसअघि, नेपाली दूतावास लन्डनले सोमबार सांझसम्म बेलायतमा ६० जना नेपालीहरुको कोरोनाका कारण निधन भएको पुष्टी गरेको थियो ।

मृत्यु हुनेहरुमा ५० जना पुरुष र १० जना महिला रहेका छन् । सबैभन्दा बढी मृत्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिकहरुको संख्या ४९ रहेको दुतावासका प्रवक्ता शरदराज आरनले पुष्टि गर्नुभएको थियो ।

मृत्यु हुनेमा धेरैजसो ७० वर्षमाथिका छन् ।