MENU

बेलायतले गोर्खाको तस्विर अंकित सिक्का निश्कासन गर्ने 

अर्थमन्त्री ॠषि सुनाकले अल्पसंख्यक समुदायका ऐतिहासिक पात्रहरुको तस्विर राखेर सिक्का निश्कासन गर्ने तयारीलाई अघि बढाएका हुन् ।

British Currency Gurkha

लन्डन । बेलायती सेनामा गोर्खाहरुले पुर्याएको योगदानको कदरस्वरूप बेलायतले उनीहरुको तस्विरसहितको पाउन्ड स्टर्लिङको सिक्का निश्कासन गर्ने तयारी गरेको छ ।

देशको लागि महत्वपूर्ण योगदान गर्ने अश्वेत तथा अल्पसंख्यक समुदायका सदस्यको तस्विरअंकित सिक्का निश्कासन गर्न लागिएको सरकारका ट्रेजरी मन्त्री जोन ग्लेनले बताएका सेल्सबरी जर्नललाई उदृत गर्दै बेलायतबाट प्रकासन हुने नेपालीलिंकले समाचार लेखेको छ ।

समाचारमा जनाए अनुसार पछिल्लोपटक अर्थमन्त्री ॠषि सुनाकले अल्पसंख्यक समुदायका ऐतिहासिक पात्रहरुको तस्विर राखेर सिक्का निश्कासन गर्ने तयारीलाई अघि बढाएका हुन् । मन्त्री सुनाककै निर्देशनमा अहिले उक्त सिक्काको डिजाइन र ती सिक्कामा तस्विर राखिने अनुहारहरुको छनोटको प्रकृयामा रहेको ट्रेजरी मिनिस्टर ग्लेनले जानकारी दिए ।

सिक्कामा तस्विर समावेश गर्ने सम्भावित व्यक्तित्वहरुको सूचीमा गोर्खाहरु पनि छन् । बेलायती सेनामा अद्वितीय योगदान बापत् यहाँको प्रतिष्ठित भिक्टोरिया क्रस (भीसी) पदक विजेता गोर्खालाई सूचीमा राखिएको बताइएको छ ।

बेलायतको इतिहासमा अहिलेसम्म श्वेत बेलायती बाहेकको अन्य कुनै समुदायका सदस्यका तस्विर पाउन्ड स्टर्लिङको सिक्कामा समावेश भएका छैनन् ।