MENU

बेलायती महारानीको दुर्लभ सम्बोधनः ‘हामी सफल हुनेछौँ र त्यो सफलता हामी सबैको हुनेछ’

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले आइतबार राष्ट्रका नाममा सम्बोधन गरेकी छन्। दुर्लभ रूपमा गरिने सम्बोधनमा महारानीले यसपटक कोरोना भाइरस संक्रमणलाई विषय बनाइन्।

बिबिसीका अनुसार उनले कोरोनाविरुद्ध लड्न सरकारको नियम मानेर घरमै बस्ने मानिसहरूलाई धन्यवाद दिँदै अरुको सहयोगमा जुट्नेहरुको प्रशंसा गरिन्। त्यस्तै उनले अत्यावश्यकीय काममा खटेका व्यक्तिहरूलाई पनि धन्यवाद दिइन्। विगतको अवस्थाभन्दा अहिलेको अवस्था भिन्न भएपनि यसविरुद्धको लडाईंमा सफलता मिल्ने उनकाे विश्वास थियाे।

EPA/BUCKINGHAM PALACE

‘हामीले विगतमा चुनौतीहरू भोगेको भए तापनि यो एकदमै फरक छ,’ विन्जर क्यासलबाट सम्बोधन गर्दै महारानीले भनिन्, ‘यसपटक विज्ञानको बृहत् विकास र हाम्रो करुणाभावसहित साझा प्रयत्नका लागि विश्वभरिका देशहरूसँग हामी मिलेका छौँ। हामी सफल हुनेछौँ र त्यो सफलता हामी सबैको हुनेछ।’

आफ्नो सम्बोधनका क्रममा ९३ वर्षीया महारानीले राम्रा दिनहरु पनि आउने भन्दै आशावादी बनाउन खोज्दै भनिन्, ‘हामीले अझ धेरै सहनु परे पनि के कुरा सम्झेर सहज मान्नुपर्छ भने राम्रा दिनहरू फर्किनेछन्। हामी फेरि आफ्ना साथीहरू माझ हुनेछौँ, हामी फेरि हाम्रा परिवारसँग हुनेछौँ, हामी फेरि भेट्नेछौँ।’

उनले अहिले जारी राख्न भनिएको व्यक्तिगत दूरीले दोस्रो विश्वयुद्धताका अन्यत्र सारिएका बालबालिकाहरू सम्झाएको बताइन्।

एकताबद्ध र दृढ भए अहिलेको अवस्थाबाट पार पाउन सकिने महारानीको भनाइ थियो। ‘मिलेर हामी यो रोगसँग सङ्घर्ष गरिरहेका छौँ,’ उनले भनिन्, ‘र म फेरि के आश्वस्त पार्न चाहन्छु भने हामी एकताबद्ध र दृढ भयौँ भने हामीले यसलाई पार लगाउनेछौँ।’