MENU

 भिक्टाेरियामा तीन हजार मानिस आवासगृहमै पाँच दिनसम्म लकडाउनमा  

मेलबर्न । अस्ट्रेलियाकाे भिक्टोरिया राज्य सरकारले ३ हजार मानिसलाई पाँच दिनका लागि सार्वजनिक आवासगृहमा लकडाउनमा राख्ने निर्णय लिएको छ ।

भिक्टोरियाका प्रमुख डेनियल एन्ड्रयूले फ्लेमिङटन र उत्तरी मेलवर्नको नगरमा रहेको सार्वजनिक आवासगृहमा आईवारबाट लागू हुने गरी उनीहरुलाई लकडाउनमा राखिएको जनाएका हुन् ।

विगत २४ घण्टाभित्र भिक्टोरिया राज्यमा कोरोना भाइरसबाट नयाँ १०८ जना संक्रमित भएपछि सो निर्णय लिइएको बताइएको छ । यो संख्या मार्च २८ पछिको सर्वाधिक हो ।

“स्थानीय नागरिक तथा समुदायलाई सुरक्षित राख्नका लागि यो निकै नै महत्वपूर्ण कदम हो,” एन्ड्रयूले भने । लकडाउन पालना गराउन एक सिफ्टमा ५ सयको संख्यामा सुरक्षाकर्मी खटाइने छ ।

३ हजार मानिसका लागि खाद्यान्न उपलब्ध गराउन चुनौतीपूर्ण हुने भन्दै तर यो कदम आवश्यक भएको एन्ड्रयूले जनाएका छन  । उनले सो क्षेत्रका मानिसलाई कोरोना भाइरसको परिक्षण गराउन समेत आग्रह गरेका छन् ।

यसका अलावा उनले लकडाउनमा रहेका मानिसहरुलाई कुनैपनि कारणले आफ्नो स्थानबाट बाहिर जान नदिइने जनाएका छन् ।