MENU

भिक्टोरियामा एकै दिन पाँच सय ३२ नयाँ संक्रमित; ६ जनाको मृत्यु

मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा एकै दिन कोरोना भाईरसको अहिले सम्मकै धेरै संक्रमित देखिएका छन् । भिक्टोरिया राज्यमा एकै दिन पाँच सय ३२ नयाँ संक्रमित देखिएका हुन् ।

साथै राज्यमा एकै दिन ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश बृद्धबृद्धा स्याहर केन्द्रमा बसोवास गर्ने रहेका छन् । राज्यका प्रिमियर डेनियल एन्ड्रुले नियमित पत्रकार सम्मलेलनमा बोल्दै मृत्यु हुनेमा अधिकांश बृद्धबृद्धा स्याहर केन्द्रमा बसोवास गर्ने रहेको जानकारी दिए ।

राज्यमा अहिले चार हजार पाँच सय ४२ एक्टिभ केस रहेका छन् जसमा चार सय जना स्वास्थ्यकर्मी पनि छन् । उचारका लागि राज्यका बिभिन्न अस्पतालमा दुई सय ४५ जना भर्ना भएका छन् भने ४४ जनाले सघन उपचार लिइरहेका छन् ।

कार्यस्थल बन्द गर्ने प्रिमियरको चेतावनी

राज्यमा कोरोना भाईरसको साना साना क्लस्टर बढ्दै गएपछि प्रिमियर एन्ड्रुले संक्रमण फैलनबाट राेक्न मापदण्ड पुरा नगर्ने साना, मझौला र ठूला उद्योग तथा कार्यक्षेत्र बन्द गर्ने चेतावनी दिएका छन् । राज्यको रमरभिल रिटेल सर्भिसेज र बर्टोचि स्मल गुड्स मासु प्रसोधन केन्द्रबाट संक्रमण फैलिएछि प्रिमियरको यो चेतावनी आएको हो ।