MENU

भ्रष्टाचार अन्त्यका लागि नजिक-टाढाका कसैलाई छोड्दिनँ : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्य र सुशासनका लागि आफूले कसैलाई पनि विभेद नगर्ने बताएका छन्।

 

 

बिहीबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीद्वारा लिखित पुस्तक ‘आर्थिक सम्मृद्धि’ लोकापर्ण गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

 

सुशासनका लागि लड्दा कतिले आफ्नो पद धरापमा पर्न सक्ने चेतावनी दिएकोसमेत उनको भनाइ थियो।

 

‘सुशासन र सिस्टमका लागि लडेको छु। सिस्टमका लागि नजिक र टाढाका कसैलाई छोड्दिनँ,’ बालुवाटारमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने।

 

सरकारका प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न एउटा स्विस कम्पनी एजेन्टसँग कमिसन मागेको भन्दै अडिओ टेप सार्वजनिक भएको केही समयपछि प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो।

 

मन्त्री बाँस्कोटासँग प्रधानमन्त्री ओलीको निकट सम्बन्ध छ। केही दिनअघिमात्र उनले प्रतिभावान भन्दै बाँस्कोटाको तारिफ गरेका थिए।

 

मन्त्री बाँस्कोटाले उक्त कम्पनीसँग कमिसन मागेको अडिओ सार्वजनिक भएपछि उनले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने माग नेकपाभित्र र बाहिरबाट उठिरहेको छ।

 

अडिओ प्रकरणबारे बुझ्न प्रधानमन्त्रीले बाँस्कोटालाई बालुवाटारमा बोलाएका छन्।