MENU

महाशिवरात्रिको तयारी पुरा – पशुपतिमा ५ हजार प्रहरी परिचालन, गाँजा सेवनमा प्रतिबन्ध

काठमाडौं । शिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा ५ हजार प्रहरी परिचालन हुने भएको छ । गैरकानुनी क्रियाकलाप नियन्त्रण र सुरक्षाका लागि प्रहरी पचिालन गर्न लागिएको हो ।

 

यो सँगै सादा पोसाकमा सूचना संकलन र रिजर्भ फोर्स पनि तयारी अवस्थामा राखिएकोे महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

 

यसपटक फागुन ९ गते परेको शिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा विदेशबाट भक्तजन आउने क्रम सुरु भएको छ । भीड धेरै हुने भएकाले चोरी, लुटपाट हुनसक्नेतर्फ प्रहरी सक्रिय भएको डीआईजी पोखरेल बताउँछन् ।

 

प्रहरीले गैरकानुनी गतिविधि नियन्त्रणदेखि दर्शनका लागि पुग्ने भक्तजनको लाम मिलाउनेदेखि सवारीसाधन पार्किङ व्यवस्थापनमा पनि सघाउनेछ । पशुपति क्षेत्रमा प्रविधिबाट निगरानी, कुकुरसहितको सुरक्षा जाँचको तयारी गरिएको छ ।

 

‘‘भीडमा महिलाको गहना तथा पैसा लुट्ने गिरोह सक्रिय हुन सक्छन् । त्यसका लागि सादा पोसाकमा महिला प्रहरी परिचालन हुनेछन्,” डीआईजी पोखरेलले भने, “शान्त र भयरहित वातावरणमा मन्दिर दर्शनका लागि सुरक्षा व्यवस्था भरपर्दो पार्नेछौं ।’’

 

 

सुरक्षा व्यवस्थापनका लागि कमान्ड पोस्टसमेत बनाइने छन् । नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी पनि सुरक्षामा खटिँदै आएको छ । गाँजा, भाङलगायत पदार्थ बेच्ने, सेवन गर्ने र बिक्री–वितरणमा पनि प्रतिबन्ध लगाइएको पोखरेलले बताए ।

 

कानुनविपरीतका गतिविधि गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गरिने उनको भनाइ छ । शिवरात्रिका दिन ट्राफिक व्यवस्थापन पनि भरपर्दो बनाउने तयारी रहेको पोखरेलले बताए ।