MENU

राष्ट्रकवी माधवप्रसाद घिमिरेको निधन

काठमाडौं, नेपाल ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको छ।

झण्डै ६ बजे साँझ उहाँको लैनचौरस्थित आफ्नै निवासमा निधन भएको हो।

विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका कविवर घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन् ।

अन्त्येष्ठि बुधबार

राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टि भोली हुने भएको हो। घिमिरेको परिवारले मंगलबार नै अन्तिम संस्कार गर्ने तयारी गरेपनि प्रधानमन्त्री कार्यालयले भोलीमात्रै राष्ट्रिय सम्मानका साथ अन्तिम अन्त्येष्टि गर्न आग्रह गरेपछि उहाँको बुधबार राष्ट्रिय सम्मानका अन्त्येष्टि हुने भएको हो।

अहिले घिमिरे निवास लैनचौरमा उहाँलाई श्रद्धाञ्जलि दिन परिवारजन र शुभेच्छुकहरुको भिड लागेको छ।

प्रधानमन्त्रीद्धारा शोक व्यक्त

यता राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा प्रधानमन्त्री केपि शर्मा ओलीले शोक व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटर मार्फत शोक व्यक्त गर्दै प्रधानमन्त्री ओलीले ‘ राष्ट्र कवि माधवप्रसाद घिमिरेको १०२ बर्षको उमेरमा आज दुःखद निधन भएको छ।

उहाँको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ। साहित्य मार्फत उहाँले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्। शोकको यस क्षणमा म उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दछु ।साथै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’ लेखेका छन् ।

नेपाली सेनाको सलामी

राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टिमा नेपाली सेनाले सलामी दिने भएको छ।

नेपाल आर्मीका मानार्थ ब्रिगेडियर जनरल घिमिरेलाई नेपाली सेनाले सलामी अर्पण गर्ने भएको छ ।

नेपाल आर्मीका प्रवक्ता सन्तोषबल्लभ पौडेलले अधिकृतको नेतृत्वको टुकडीले घिमिरेलाई सलामी दिने बताए ।

त्यसबाहेक अन्य व्यवस्थापनमा पनि आर्मीले सहयोग गर्ने उनको भनाई छ । नेपाल आर्मीले २०७४ सालमा घिमिरेलाई सो उपाधि दिएको थियो।