MENU

राहत वितरण सहज बनाउन सरकारले तोक्यो सातै प्रदेशमा ‘फोकल पर्सन’

सरकारले दिने राहत वितरणलाई व्यवस्थित बनाउन सातै प्रदेशमा फोकल पर्सन तोकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै सबै प्रदेशमा फोकल पर्सन तोकिएको जनाएको हो ।

लकडाउनका कारण समस्यामा परेका असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, मजदुर, विपन्न तथा असहाय वर्गलाई खानपानमा कुनै समस्या नहोस् भनेर स्थानीय तहहरुसँग समन्वय र सहजिकरण गर्ने उद्देश्यले फोकल पर्सन तोकिएको मन्त्रालयले जनाएको छ ।

सरकारले प्रदेश–१ मा प्रल्हाद कार्की, प्रदेश–२ मा ऋषिराज आचार्य, बागमती प्रदेशमा अच्युत रेग्मी, गण्डकी प्रदेशमा बाबुराम भुषाल, प्रदेश–५ मा डिलाराम पन्थी, कर्णाली प्रदेशमा रामप्रसाद वाग्ले र सुदूरपश्चिम प्रदेशमा रेशमलाल कँडेल फोकल पर्सनको रुपमा तोकेको छ।

त्यस्तै, राहत पाउनको लागि सम्बन्धित निकायसम्म पहुँच नपुगेका तथा समस्यामा परेका मजदुर र विपन्न वर्गका व्यक्तिहरुले सम्पर्क गर्न हुन तथा आ–आफ्नो टोल, छिमेक र सम्पर्कमा रहेका पहुँच नभएका यस्ता व्यक्तिहरुका बारेमा एसएमएसमार्फत सम्पर्क गराई सहयोग गर्नु हुन मन्त्रालयले सम्पूर्ण राजनीतिकर्मी, बुद्धिजीवी, पेशाविद्, संचारकर्मी, नागरिक समाज लगायतलाई आग्रह गरेको छ ।