MENU

लुक्लामा रामेछापबाट मात्रै उडान भर्न दिन टानको माग

ट्रेकिङ एजेन्सीहरुको संगठन टानले काठमाडौंबाट लुक्ला उडान पूर्णरुपमा रोक्न माग गरेको छ ।

सोमबार पर्यटन सचिव मोहनकृष्ण सापकोटालाई भेटेर टानका अध्यक्ष नवराज दाहालले यस्तो आग्रह गरेका हुन्। सरकारले लुक्ला–रामेछाप उडानलाई निरन्तरता दिनलागेपछि टानले उक्त माग गरेको हो।

सचिवसँगको बैठकका क्रममा टान अध्यक्ष दाहालले सरकारले गम्भीर भएरै निर्णय गरेको हो भने काठमाडौंदेखि लुक्ला उडान रोक्नुपर्ने बताएका थिए। उनले कसैलाई काखा कसैलाई पाखा गर्ने विमान कम्पनीहरुलाई सरकारले निरुत्साहित गर्नुपर्ने बताए। कतिपय एयर लाइनहरुले सिट अफर गर्दा उक्त उडानमा भेदभाव गर्ने गरेको आरोप दाहालको थियो।

खासगरी काठमाडौंबाट अनलाइनमा टिकट बुकिङ गर्दा यस्तो देखिएको अध्यक्ष दाहालको दाबी छ । त्यस्तै दाहालले लुक्ला उडानको रुट परिवर्तन गर्ने हो भने हवाइ भाडा पनि पुनर्विचार गरी पुनर्निर्धारण गर्नुपर्ने बताए। टानकै उपाध्यक्ष खुमबहादुर सुवेदीले एयरलाइन कम्पनीहरुले आफ्ना अनलाइन बुकिङलाई टिकट बिक्री गर्न दिएको आरोप लगाउँदै सचिवको ध्यानाकर्षण ग राएका थिए।

सचिव सापकोटाले टानले उठाएका सवालमा आफू सकारात्मक रहेको बताए। उनले तत्कालै पर्यटन मन्त्रालय, टान र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट(नाट्टा), तथा नागरिक उड्ययन प्राधिकरण बसेर वार्ता गरी समस्याको समाधान गरिने जानकारी दिए।