MENU

विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने : उच्चस्तरीय समितिको निर्णय

फाइल फोटो

सरकारको उच्चस्तरीय समितिले, विदेशमा रहेका नेपाली फर्काउने कार्ययोजना पारित गरेको छ।

तर सरकारले उनीहरुलाई कहिलेबाट फर्काउने भन्ने अन्तिम तालिका भने तयार गरिनसकेको बताइएको छ ।

कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समितिको शुक्रबार बसेको बैठकले केही दिनभित्रमै समयतालिका तयार गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए।

फर्किन चाहानेले सम्बन्धित देशका दूतावासमा आवेदन दिनुपर्नेछ।

सम्बन्धित देशका दूतावासमार्फत् परराष्ट्रले ती देशबाट फर्काउनै पर्ने नेपालीको तथ्यांक संकलन गर्ने र परराष्ट्र मन्त्रालयले विदेशबाट फर्काउने नेपालीको प्राथमिकता अनुसारको सूची तयार पार्ने जिम्मेवारी पाएका छन्।

को को परे प्राथमिकतामा

समितिले शुक्रबार पारित गरेको कार्ययोजना अनुसार सम्बन्धित देशमा आममाफी पाएर घरफिर्ती केन्द्रमा रहेकालाई पहिलो प्राथमिकतामा राखिएको छ ।

त्यस्तै नेपाल फर्किन अनुमति पाइसकेका, अन्य कुनै कारणले बहिरगमन भिसा पाइसकेका, आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल आउनुपर्ने व्यक्तिहरुलाई पहिलो प्राथमिकता दिइएको छ ।

करार अवधि सकिएका र रोजगारी गुमाएका व्यक्तिहरु, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरु तथा कोरोना बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य अवस्था भएका व्यक्तिहरु पनि घर फर्काउने प्राथमिकतामा परेका छन्।

त्यस्तै सरकारी सेवामा रहेका र विदेश अध्ययन वा तालिमका लागि गएर फर्किन नपाएका, अध्ययन सकिएका विद्यार्थीहरु, कलेज बन्द भएका विद्यार्थीहरु, पारिवारिक भेटघाटमा गएर फर्किन नपाएका व्यक्तिहरुलाई पनि समेटिएको छ ।

कम्पनीबाट रोजगारीसहित अनिवार्य बिदामा रहेका व्यक्तिहरु, अन्तराष्ट्रिय संघ संस्थामा काम गर्ने र नेपाल आउनुपर्ने अवस्थाका व्यक्तिहरु, पर्यटन र व्यवसायीक भिसामा गइ बाहिर रोकिएका व्यक्तिहरुलाई पनि नेपाल फर्काउने प्राथमिकतामा राखिएको समितिले जनाएको छ ।

स्वदेशी विमानलाई प्राथमिकता

विदेशबाट नेपाली फर्काउनका लागि आवश्यक विमानको व्यवस्था गर्दा नेपाली विमान कम्पनीलाई प्राथमिकतामा राखिएको छ।

नेपाल एयरलाइन्सले पहिलो प्राथमिकता पाउने र त्यसले नभ्याएका नेपालमै रहेका अरु कम्पनीका विमान प्रयोग गर्ने निर्णय भएको सचिव बिडारीले जानकारी दिए।