MENU

विद्यालय निर्माणमा सहयोग जुटाउन नेपथ्यको कन्सर्ट

काठमाडौं- भूकम्पले क्षतिग्रस्त दोलखास्थित एक सरकारी विद्यालय निर्माणमा सहयोग जुटाउने उद्देश्यले चर्चित लोक रक ब्याण्ड ‘नेपथ्य’ ले यही फागुन १७ गते काठमाडौंको भृकुटीमण्डपमा कन्सर्ट गर्ने भएको छ।

 

 

‘शिक्षाका लागि संगीत’ नाम दिइएको कन्सर्ट दोलखाको भीमेश्वर नगरपालिका २ स्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको पुनर्निर्माणमा सहयोग जुटाउन आयोजना गरिएको हो।

 

भूकम्पले भत्किएको उक्त विद्यालयको निर्माण अहिलेसम्म पूरा हुन सकेको छैन। नेपथ्यले हेल्प नेपाल नेटवर्कसँग मिलेर कन्सर्ट गर्न लागेको हो ।

 

 

२०७२ को भूकम्पका बेला नेपथ्य ब्याण्डले प्रधानमन्त्री राहतकोषमा दुई पटक गरेर सोझै दस लाख रुपैयाँ र विदेशका केही कन्सर्टबाट उठेको रकमसमेत उतैबाट समर्पित गरेर झण्डै ४० लाख रुपैयाँको योगदान दिएको थियो। त्यसैको निरन्तरता यो कन्सर्ट पनि भएको ब्याण्डको व्यवस्थापन गर्दै आएका किरणकृष्ण श्रेष्ठले जानकारी दिएका छन्।

 

 

‘संगीतले जगतलाई आत्मा, सोचाइलाई पखेटा, कल्पनाहरुलाई उडान र प्रत्येक कुरालाई जीवन्तता प्रदान गर्छ भन्ने भनाइ नै छ,’ हेल्प नेपाल नेटवर्कका निर्देशक रोशेन्द्रध्वज खड्काले भने, ‘हामीसँगको सहकार्यमा नेपथ्यको आगामी कन्सर्टले केटाकेटीहरुको सपनालाई पखेटा, ती साना आत्माहरुलाई आशा र दोलखालाई जीवन्तता प्रदान गर्नेछ।’

 

 

संस्थाले यसपटक पनि नेपथ्यको संगीतमा गरिने लगानीबाट स्कुल भवन निर्माणको परिकल्पना अघि सारेको खड्काले बताए।

 

 

हेल्प नेपाल नेटवर्क नेपालका अध्यक्ष अरुण सिंह बस्नेतले दर्शक, श्रोताहरुको सहभागिता र सहयोग दोलखाका बालबालिकाको शैक्षिक भविष्य उज्यालो तुल्याउन निकै महत्वपूर्ण हुने उल्लेख गरे।

 

 

दोलखाको उक्त सरकारी स्कुल पुनर्निर्माणको औपचारिक उद्घाटन २०७३ चैत १५ मै भए पनि अझै निर्माणाधीन अवस्थामा छ । स्वीकृति प्राप्त डिजाइन मुताबिक यो स्कुल भवन बनेपछि यसबाट तीन सय विद्यार्थीले भूकम्प प्रतिरोधी भवनमा पढ्ने अवसर पाउने छन् । आधारभूत सुविधायुक्त उक्त भवन परम्परागत नेपाली ढाँचामा बन्ने जनाइएको छ।

 

 

‘नेपथ्यले आफूलाई मनोरन्जनमा मात्र सीमित नराखेर सामाजिक दायित्वका क्षेत्रमा पनि धेरै अघिदेखि अग्रस्थानमा उभ्याउँदै आएको छ,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘स–साना नानीहरुका आधारभूत शिक्षाको अधिकारलाई सुनिश्चित गर्ने यो कन्सर्टमा गाउन पाउनुलाई मैले गौरवको रुपमा लिएको छु ।’