MENU

विश्वकप छनोटमा नेपालको लज्जास्पद हार, कुवेतसँग ७-० ले पराजित

काठमाडौं- फिफा विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपाल कुवेतसँग ७–० गोल अन्तरले पराजित भएको छ। पहिलो हाफमा २-० ले पछि परेको नेपालले दोस्रो हाफमा ५ गोल खाएको हो।

 

 

१९९४ को एसियाली खेलकुदमा पनि नेपाल ८-० ले पराजित भएको थियो। लज्जास्पद हारपछि नेपाली टिमका प्रशिक्षक योहान कालिनले आफूहरुको खेल मूर्खतापूर्ण रहेको र त्यसको विश्लेषण हुने बताएका छन्। योजनाअनुसार आफूहरुले खेल्न नसकेको उनले बताए।

 

कुवेतको जविर अल अहमेद अन्तर्राष्ट्रिय मैदानमा गएराति नेपाल कुवेतसँग खेलेको थियो। पछिल्लो पटक नेपाल र कुवेतबीच गएको मार्चमा भएको दुई खेलमा एउटा गोलरहित बराबरीमा टुंगिएको थियो भने अर्कोमा नेपाल १-० ले पराजित भएको थियो।

 

पछिल्लो दुई खेल ठिकै देखिए पनि समग्रमा नेपालले कुवेतसँगको ६ खेलमा २२ गोल खाएर १ गोल मात्रै फर्काएको छ। त्यही १ गोल पनि १९८२ को एसियाली खेलकुदका बेला भएको थियो। उक्त खेलमा नेपाल ३-१ ले हारेको थियो। नेपालका लागि वाई बी घलेले गोल गरेका थिए। १९८६ को एसियाली खेलकुदमा नेपाल ५-०, १९९४ को एसियाली खेलकुदमा ८-० ले, २००० को एसियाली खेलकुदमा ५-० ले हारेको थियो।

 

फिफा वरीयतामा कुवेत १५६ औँ स्थानमा छ भने नेपाल १६६ औँ स्थानमा। नेपालले अब चाइनिज ताइपेइसँग उसैको मैदानमा भदौ २४ गते खेल्दैछ। विश्वकप छनोटमा समूह ‘बी’ मा नेपालसहित अस्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेइ रहेका छन्।