MENU

वुहानका नेपालीलाई यसरी ल्याइदै छ स्वदेश

सरकारले  शुक्रबार जहाज पठाएर  शनिबार चीनको वुहानमा रहेका नेपालीहरुको उद्धार गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना प्रभावित क्षेत्रबाट नेपालीहरुको उद्धार गर्ने तयारी पूरा भइसकेको छ।

त्यस्तै, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि चीन पठाउने जहाज तयारी अवस्थामा राखिएको बताएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार वुहानबाट ल्याउन लागिएका १८० जना नेपालीलाई राख्ने स्थानको व्यवस्थापन भइसकेको छ ।

भक्तपुरको खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रमा ६० वटा कोठा र १८६ वटा बेड तयारी अवस्थामा राखिएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । प्रत्येक बेड एक–एक मिटरको ‘ग्याप’मा राखिएको छ ।

चीनबाट ल्याइएका नेपाली नागरिकलाई संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको श्रेष्ठले बताए । उक्त स्थानलाई अन्तर्राष्ट्रिय मान्यताअनुसार क्वारेन्टाइनमा राख्नको लागि सबै तयारी गरिसकिएको उनले जनाए ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. फडिन्द्रप्रसाद बरालले क्वारेन्टाइनमा उपयोग गरिने तालिम केन्द्रका भवन, कोठा, प्रयोग गरिएका सामानको संक्रमण रोकथाम व्यवस्थान गरिएको जानकारी दिए ।

वुहानमा रहेका नेपालीलाई लिन जाने प्राविधिक टोली, पाइलट, कोपाइलट, तथा एयर होस्टेसलाई भने नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिने भएको छ।

सरकारले नेपाली सेना र नेपाल प्रहरीका ५ जना चिकित्सकलाई पनि चीन पठाउँदै छ । चीन जाने जहाजमा दुई चिकित्सक, दुई नर्स र एक पारामेडिक्स रहनेछन् । उनीहरुसहित चीनबाट ८६ स्वास्थ्यकर्मी र चीन जाने जहाजको चालक दलका १६ सदस्यलाई स्वास्थ्य मन्त्रालयले तालिम दिइसकेको छ । जहाजमा नेपालबाट जाने टोली र त्यहाँबाट ल्याइने सबैलाई दुई हप्ता क्वारेन्टाइनमा राखिनेछ ।

क्वारेनटाइनमा राखिने सबैको नियमित स्वास्थ्य परीक्षण गरिन्छ । कसैलाई भाइरस संक्रमणको शंका लागेमा तुरुन्त अस्पताल लगिनेछ । त्यसका लागि एम्बुलेन्सलगायत अन्य आवश्यक सामग्री तयारी अवस्थामा रहन्छन्। चीनबाट ल्याइएका विद्यार्थीलाई विमानस्थलमा स्वास्थ्य जाँच गरेर त्यहाँबाट ५ वटा बसमा हालेर सिधै खरिपाटी लगिने कार्यतालिका छ ।

वुहानमा रहेका आफ्ना छोराछोरी तथा आफन्तको उद्धार हुने भएपछि अभिभावक खुसी छन्। आफन्तलाई फिर्ता ल्याउन उनीहरु विभिन्न निकायमा धाइरहेका थिए।

नेपाल ल्याइए पनि उनीहरुले कम्तीमा दुई हप्ता आफन्तलगायत अन्य कसैसँग भेट्न भने पाउनेछैनन्। ती विद्यार्थीहरुको लागि बेइजिङस्थित नेपाली राजदूतावासले पालना गर्नुपर्ने नियमहरु सार्वजनिक गरेको छ । शनिबार नेपाल आउने नेपालीहरुले नेपाल सरकारले तयार गरेको नियम पालना गर्नुपर्नेछ ।

उनीहरुले १४ देखि १७ दिन सरकारले तोकेको ठाउँमा चिकित्सकको निगरानीमा बस्नुपर्नेछ । क्वारेन्टाइनमा रहँदा खाना, पानी, शौचालय, स्वास्थ्य उपचार सबैको व्यवस्थापन सरकारले नै गर्नेछ।

तयार रहन दूतावासको आग्रह

बेइजिङस्थित नेपाली दूतावासले चीनको हुबेईमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि शनिबार जहाजको उडान अनुमति मागिसकेको जानकारी दिएको छ । दूतावासले पठाएको सन्देशमा नेपालीहरूलाई उद्धारका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।

चिनियाँ नागरिक उड्डययन निकायबाट उडान अनुमति आउनेबित्तिकै कोरोना भाइरसबाट प्रभावित हुबेईमा रहेका झन्डै दुई सय नेपालीहरूको उद्धारका लागि अन्य व्यवस्थापन गरिने दूतावासले जनाएको छ ।

दूतावासका उपनियोग प्रमुख सुशील लम्सालले हुबेईमा रहेका नेपालीहरूलाई वीच्याटमार्फत् सन्देश पठाउँदै त्यस्तो जानकारी गराएका हुन्। लम्सालले यसअघि चिनियाँहरूले तीन दिनजतिको समय राखेर पूर्व जानकारी दिनुपर्ने भनेको बताएका छन्। तर अहिले दुई दिनमै उद्धारका लागि सबै कुरा सम्पन्न गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।