MENU

वैदेशिक रोजगारीमा पुगेका सयभन्दा बढी नेपालीको शव अलपत्र

कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा पुगेका सयभन्दा बढी नेपालीको शव अलपत्र अवस्थामा छ।

यूएईमा २१, साउदी अरबमा ३३, मलेसियामा ३०, कतारमा २६, कुवेतमा ७ तथा दक्षिण कोरिया, बहराइन, साइप्रस र ओमानमा एक एक जना नेपाली कामदारको शव अलपत्र अवस्थामा रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

निरन्तरको लकडाउनका कारण अलपत्र परेको वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउन तथा सम्बन्धित देशमै दाहसंस्कार गर्न पनि समस्या भएको बोर्डले जनाएको छ ।

परिवारको अनुमति लिएर विदेशमै दाहसंस्कारको लागि प्रयास भएपनि सहमति पाउनै गाह्रो भइरहेको बोर्डका कार्यकारी प्रमुख राजनप्रसाद श्रेष्ठले बताए । लकडाउन भएयता परिवारको सहमति लिएर जम्मा ६ जनाको मात्र दाहसंस्कार गरिएको छ । हाल यूएईमा ३, सिसेल्समा १, टर्कीमा १ र दक्षिण कोरियामा १ जनाको दाहसंस्कार गरिएको हो ।

८ जना मृतकका परिवारले उतै दाहसंस्कारका लागि सहमति दिएको र दाहसंस्कार गर्ने प्रक्रियामा रहेको जनाइएको छ।

यसैबीच बोर्डले नेपाल सरकारको निर्देशनमा विदेशमै दाहसंस्कार गर्न अनुमति दिने कामदारको हकदारलाई सान्त्वना स्वरुप ५० हजार नगद उपलब्ध गराउने पनि जानकारी गराएको छ ।

कारोनाका कारण वैदेशिक रोजगारीमा गएका ४ जनाको मृत्यु

यूएईमा २ तथा टर्की र साउदी अरबमा एक एक जना गरि कोरोना भाइरसका कारण हालसम्म वैदेशिक रोजागारीमा गएका चार जना नेपालीको ज्यान गएको छ ।

खाडीका प्रमुख रोजगारदाता देशबाट मात्र तत्काल एक लाखभन्दा बढी कामदार नेपाल आउने स्थितीमा रहेको बोर्डले जनाएको छ। ४२ हजारभन्दा बढी कामदार करार अवधि सकिएर र बाँकी कामदार समयावधि सकिएर, अवैधरुपमा बस्दै आएका नेपालीहरु रहेको बताइएको छ।

चैत ११ गतेदेखि नेपालमा जारी लकडाउनका कारण विदेशमा रहेका नेपाली आउन सकेका छैनन्।