MENU

सदीक्षा श्रेष्ठः डाक्टर बन्न छाडेर बिजनेश प्लानर

सदीक्षा सेन्टजेभियर्स कलेजमा बीबीएस पढ्दै थिइन्। एकदिन उनको मोबाइलमा जर्मन कार फक्सवागनको नेपालमा आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलका महाप्रबन्धक विवेक बिजुक्छेको फोन आयो। विवेकले उनलाई सुजुकी स्कुटर लन्चका लागि आइदिन आग्रह गरे।

सदीक्षाले विवेकको आग्रह स्वीकारिन्। उनी तोकिएको समयमा वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वर पुगिन्। स्कुटर लन्च गरिन्।

सोही बखत विवेकले सदीक्षालाई सोधे, ‘आजभोलि के पढ्दै, के गर्दै हुनुहुन्छ?’

सदीक्षाले आफू बीबीएस पढिरहेको बताइन्। विवेकले उनको रुचीबारे सोधे। सदीक्षाले मार्केटिङ फिल्डमा आफ्नो रुची रहेको सुनाइन्। साथै उनले १ वर्ष आफूले एसिई ट्राभल्स्मा ‘कर्पोरेट कम्युनिकेशन अफिसर’ भएर काम गरेको समेत बताइन्।

केही समय उनीहरुबीच फक्सवागनको विषयमा कुरा भयो। सदीक्षाको सबै कुरा सुनेपछि विवेकले उनलाई फक्सवागमा जागिरका लागि अफर गरे।

त्यसपछि उनीहरुबीच केही चरणमा छलफल भयो। यसरी सदीक्षाले विश्वकै सर्बाधिक बिक्री हुने कारहरूमध्ये एक फक्सवागनको नेपाल अफिसमा ‘इभेन्ट्स एन्ड ब्रान्ड कोअर्डिनेटर’ का रुपमा काम गर्न थालिन्।

यो २०७१ साल कात्तिकको कुरा हो। जतिबेला सदीक्षाले मिस नेपालको ताज पहिरिएको ४ वर्ष पुगेको थियो।

‘यसरी म फक्सवागनमा प्रवेश गरेँ र झन्डै डेढ वर्ष काम गरेँ’, सदीक्षाले प्रतिष्ठित कार कम्पनीसँग आफू जोडिएको प्रसंग सुनाउँदै भनिन्। 

थाइल्यान्डमा मास्टर्सपछि फेरि फक्सवागन
सदीक्षा २०७२ मा मास्टर्स तहमा अध्ययन गर्न थाइल्याण्ड पुगिन्। एसिया इस्ट्च्यिुट अफ टेक्नोलोजीमा एमबीए गरेर दुई वर्षपछि नेपाल फर्किइन्। गोल्ड मेडलिस्ट भएर नेपाल फर्किएपछिको दुई–तीन महिना त्यत्तिकै बित्यो।

‘मलाई जागिरका लागि अफरहरु आइरहेको थियो’, सदीक्षा भन्छिन्, ‘तर, के गर्ने, कहाँ काम गर्ने भन्ने कुरामा म अलमलमा थिएँ।’

अलमल हुनुको कारण पनि थियो। सदीक्षालाई १०–५ बजेको परिबन्धमा बसेर जागिर खानु थिएन। पूर्व मिस नेपाल भएकाले आफ्ना ब्यक्तिगत काम र जिम्मेवारी पनि थिए।

सोही बखत सदीक्षालाई पुरानै कम्पनीबाट विवेकले सम्झिए। उनीहरुबीच भेटघाट भयो। सदीक्षाले १०–५ वाला आफ्नो कुरा प्रष्ट राखिन्। उनको अन्य जिम्मेवारीको सम्मान गर्दै फक्सवागनले फेरि कामका लागि बोलायो। त्यसयता डेढ वर्षदेखि सदीक्षा फक्सवागनमा ब्रान्ड म्यानेजरका रुपमा कार्यरत छिन्।

सदीक्षा फक्सवागन फर्किएपछि उनको सक्रियतामा थुप्रै इभेन्टहरु भए। ग्राहकको सेवालाई प्राथमिकतामा राखेर विभिन्न क्याम्पेनहरु गरिए। महिलाको नाममा गाडि नामसारी गरेको खण्डमा हिराको औँठी उपहार दिने कार्ययोजना ल्याइयो। नेपालमा फक्सवागनको यात्रा १० वर्ष पुगेको अवसरमा ‘ग्राहक वर्ष’ मनाउने कार्यक्रम तय भएको छ। आफ्नो जिम्मेवारीका विषयमा आफै र आफ्ना सिनियरमार्फत् गर्नुपर्ने कामको समन्वय गरेर फक्सवागनलाई अघि बढाउने काम गरिरहेकी छन् सदीक्षा। 

डाक्टर बन्न छाडेर मार्केटिङ 
सदीक्षाले मिस नेपाल बनेपछि बल्ल आफ्नो क्षेत्र रोजेकी हुन्। छोरीलाई डाक्टर बनाउने आमाबुबाको सपना पूरा गर्ने लक्ष्यका साथ उनले आइएस्सी पढेकी थिइन्। आइएस्सीपछि मिस नेपाल बनिन्। त्यसपछि सदीक्षाको दिमागमा विभिन्न कुराहरु खेल्न थाले– डाक्टर बन्दा पढ्नुपर्ने मोटा–मोटा किताबहरु, दिनुपर्ने थुप्रै परीक्षाहरु, आफ्ना सिनियरले गरेको दुःख आदि।

उनलाई अभिनय वा फिल्ममा पहिल्यैदेखि रुची थिएन। कुन विषय पढ्ने भन्ने कुराले उनलाई सताउन थाल्यो। सदीक्षा सानैदेखि मानिसहरुसँग कुरा गर्नमा रुची राख्थिन्, अरुलाई सजिलै कन्भिन्स गर्न पनि सक्थिन्, विभिन्न विज्ञापन हेर्दै त्यसलाई सुक्ष्म ढंगले केलाउँथिन्। त्यसैले पनि उनले बिजनेश र मार्केटिङ पढ्ने निर्णय लिइन्।

अहिले उनको पढाई र रुची मिलेको छ। फक्सवागनका लागि नेपालमा बिजनेश प्लान बनाउने र मिडिया डिल गर्ने जिम्मेवारी सम्हालेकी सदीक्षा आफ्नो काममा रमाइरहेकी छन्।

सदीक्षाको काम देखेर उनका बाबुआमाले गर्व गर्छन्। ‘विश्वकै उत्कृष्ठ मध्येको एक कार कम्पनीका लागि काम गर्दा मेरो परिवार पनि निकै खुसी छ’, सदीक्षा भन्छिन्।

बाटोमा वा अन्त कतै भेट्दा कतिपय मानिसले सदीक्षालाई ‘तपाईं फक्सवागनमा काम गर्नुहुन्छ होइन’ भनेर प्रश्न गर्दा रहेछन्। यस्ता प्रश्न उनलाई रोमाञ्चक लाग्छन्। मिस नेपाल भएपछिको उनको आफ्नै पहिचान त छँदै छ त्यसमाथि फक्सवागनले पनि उनलाई धेरैमाझ परिचित गराएको छ, व्यवसायिक रुपमा।

फक्सवागनको काम सँगसँगै उनले आफ्नो अन्य भूमिका र जिम्मेवारी सँगसँगै अघि बढाइरहेकी छन्। चैत १५ र १६ गते काठमाडौंको सोल्टी होटलमा सम्पन्न अन्तर्राष्ट्रिय लगानी सम्मेलनजस्तो बहुप्रतिक्षित र चासोको कार्यक्रम उनले नै होस्ट गरिन्। यस्ता कार्यक्रमका लागि उनले अफिसबाट पनि छुट्टी पाउँछिन्।