MENU

सिड्नीका कोरोना प्रभावित नेपाली विद्यार्थीलाई डिग्नीटी फोरमको सहयोग

सिड्नी । डिग्नीटी फोरम अष्ट्रेलियाले सिड्नीमा रहेका ४० जना अन्तराष्ट्रिय नेपाली विद्यार्थी तथा परिवारलाई खाध्यान्न सामाग्री सहायता उपलब्ध गराएको छ । एनएसडब्ल्यू राज्य सरकारको बहुसांस्कृतिक मामिला हेर्ने निकायबाट प्राप्त कोभिड -१९ इमरजेन्सी अनुदान मार्फत सहायता वितरण गरिएको हो ।

कार्यक्रममा एनएसडब्ल्यू राज्यका सांसद सोफी कोट्स्टिले संस्थाले समश्यामा परेका नेपाली समुदायका सदस्यहरुलाई सहयोग गरी सराहनिय काम गरेको बताईन । सांसद कोट्स्टिले नेपाली समुदायिक संस्थालाई अष्ट्रेलियन राज्य सरकारले अनुदान उपलब्ध गराएकोमा धन्यवाद दिदै संख्यात्मक रुपमा बृद्धि हुंदै गएको नेपाली समुदायलाई आगामी दिनमा समेत निरन्तर सहयोग गर्न पहल गर्ने बताइन ।

डिग्नीटी फोरम अष्ट्रेलियाका अध्यक्ष डा.मोम विश्वकर्माले समश्यामा परेका नेपाली विद्यार्थीलाई सरकारले सहयोग गरेकोमा संस्थाका तर्फबाट सरकार तथा सांसद सोफी कोट्स्सिलाई विशेष धन्यवाद दिएका थिए । डा.विश्वकर्माले नेपाली विद्यार्थी तथा अस्थायी भिसा होल्डरहरु कोभिड -१९ को यस विशेष परिवेशमा घरभाडा, विश्वविद्यालय शुल्क लगायतका समस्याबाट पीडित भएको बताउदैं सरकारले आगामी दिनमा अझै सहयोग बढाउन अनुरोध गरेका थिए ।

नेपालबाट केही महिना अगाडि अष्ट्रेलिया आएका, काम नभएका र आर्थिक समस्यामा परेका नेपाली विद्यार्थीलाई उक्त सहायता घरघरमा पुरयाई सहयोग गरिएको थियो । सहायता प्राप्त गरेका विद्यार्थीहरुले उनिहरुले सोंचेभन्दा धेरै र राम्रो सहयोग पाएको प्रतिकृया दिएका थिए ।

सहायता वितरणका लागि संस्थाका सदस्यहरु विशेषगरी उपाध्यक्ष सिता रसाइली, महासचिव रिस्ता शंकर, कोषाध्यक्ष हेनसन विश्वकर्मा, पब्लिक अफिसर गोपाल रसाइली तथा सह पब्लिक अफिसर अनिल विश्वकर्माले सहयोग गरेका थिए ।