MENU

एडेलेडमा कोरोना भाइरस विरुद्धको खोपको परिक्षण सुरु

एडिलेड । पृथ्वीको दक्षिणी गोलार्द्द्धमै पहिलो पटक अस्ट्रेलियाको एडेलेडमा कोरोना भाइरस विरुद्धको खोपको परिक्षण सुरु भएको छ । अस्ट्रेलियाको भ्याक्सीन कम्पनीले रोयाल एडेलेड अस्पतालमा स्वयमसेवीहरुमा कोभ्याक्स—१९ नामक भ्याक्सीनको परिक्षण गर्ने भएको छ ।

भ्याक्सिन परिक्षणमा १८ देखि ६४ वर्षसम्मका ५० जना स्वयमसेवीहरु सहभागी हुनेछन । कम्पनीका अनुसन्धान निर्देशक निकोलाई पेट्रोभस्कीले कोभ्याक्स—१९ भ्याक्सिनको प्राविधिक बनावट सार्स भाईरसका लागि बनाइएको भ्याक्सिन जस्तै भएको बताए । उनले यसले निश्चित तथा विश्वसनिय परिणाम दिने आशा राखिएको समेत बताएका छन् । भ्याक्सिनले हार्मोनल र सेलुलर ईम्युनमा असर गर्ने विश्वास लिइएको छ ।

यता कम्पनीका व्यवसाय प्रवन्धक साराह प्रिङगलले आफ्नो कम्पनीले करिब १८ वर्षदेखि महामारीको लागि सफल भ्याक्सिन विकास गर्न काम गरिरहेको बताईन् ।

दक्षिणी अस्ट्रेलियाका स्वास्थ्य मन्त्री स्टेफेन वाडेले स्वयमसेवीहरुको सहभागीताले कोरोना भाइरस नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

अस्ट्रेलियाका भिक्टोरिया बाहेकका अन्य ७ वटा राज्यहरुले सफल रुपमा कोरोना भाइरसको नियन्त्रण गरिरहेका छन् । भिक्टोरिया राज्यको मेलबर्न र आसपासका सबअर्वहरुम अहिले दोस्रो वेभको रुपमा कोरोनाको प्रकोप देखिएको छ ।
यो विषम परिस्थितिमा राज्य सरकारले यो खोपको सफल परिक्षणको लागि सबै प्रकारको सहयोग गरिरहेको जनाएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार अस्ट्रेलियामा अहिले सम्म आठ हजार दुइसय पचपन्न संक्रमित र एक सय चार जनाको निधन भएको छ ।