MENU

दलित र विपन्न समुदायका कोरोना प्रभावित परिवारलाई एनएडीएफको सहयोग

Nepali Australian Democratic Forum

सिड्नी । कोरोना महामारीबाट पीडित नेपालीलाई नेपाल अस्ट्रेलियन डेमोक्रयाटिक फोरम (एनएडीएफ) ले सहयोग गरेको छ। सिड्नीमा पत्रकार सम्मेलनको आयोजना गरेर एनएडीएफले पहिलो चरणमा देशका बिभिन्न जिल्लामा राहत वितरण गरेको जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै एनएडीएफका अध्यक्ष सुरेन्द्र सापकोटाले दिएको जानकारी अनुसार तराईका पर्सा रौतहट, सर्लाही र पहाडका जाजरकोट, कालिकोटलगायतका जिल्लामा कुल ८ सय ९ परिवारलाई राहतस्वरूप खाद्यान्नलगायतका सामाग्री वितरण गरिएको थियो ।

पर्साको अलौमा १०५, सुगौलीमा १२५ लक्ष्मीपुरमा २५८ तथा रौतहटको गरूडामा १६०, सर्लाहीको चन्द्रनगरमा ११५ दलित परिवारलाई राहतस्वरुप खाद्य सामाग्री प्रदान गरिएको थियो।

जाजरकोटको भेरी नगरपालिका अन्तर्गत खलंगाको गौरीखालीमा ५३ परिवार, कुटुमा ६ परिवार र पुन्याको स्याउली बजारमा ३३ घर परिवारसहित १०३ तथा कालिकोटको राचुलीमा १३ घर परिवार र मान्ममा १५० विपन्न तथा गरिव परिवारलाई राहत वितरण गरिएको संस्थाका महासचिव भिष्म भण्डारीले जानकारी दिए।

अस्ट्रेलियालाई कर्मभूमि बनाएका र सस्थासँग प्रत्यक्ष र परोक्ष आबद्ध शुभेच्छुकको सहयोगले नेपालमा पहिलो चरणमा राहत बितरण कार्यक्रम सम्पन्न गरेको सापकोटाले जानकारी दिए।

यस्तै संस्थाले मुलुकमा परेको भबितब्यमा समेत सहयोगको हात अघिय बढाउँदै आएको संस्थाका उपाध्यक्ष माधव गैरैले बताए। कालिकोटकै राचुलीमा मंसीर १३ गतेको आगलागी पीडित १३ परिवारलाई प्रति परिवार २/२ वटा स्लिपिङ ब्याग, टेन्ट र नगद सहयोग गरेको गैरैले सुनाए।

अति नै विपन्न, गरिब र दलित परिवारलाई लक्षित गरी उनीहरुकै गाउँ वस्तीमा पुगेर राहत वितरण गर्ने कार्यमा सञ्चारकर्मीहरु चन्द्रकिशोर झा, जनक केसी र तरुणलदका नेता भुपेन्द्र शाहीले महत्वपूर्ण सहयोग गरेको एनएडीएफका मिडिया संयोजक प्रकाश हुँमागाईँले बताए। यो अभियानमा ११ हजार ८६१ अस्ट्रेलियन डलर खर्च गरिएको हुमागाईँले सुनाए।