MENU

भूकम्पले भत्काएका ५० हजार आवास पुनर्निर्माणको काम सम्पन्न

The Nepal Earthquake Housing Reconstruction Project, supported with $700 million to help more than 330,000 homeowners from poor rural households in 32 affected districts of Nepal -The World Bank
The Nepal Earthquake Housing Reconstruction Project, supported with $700 million to help more than 330,000 homeowners from poor rural households in 32 affected districts of Nepal -The World Bank

काठमाडौं- २०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्काएका घरहरूको पुनर्निर्माण सकिँदा घर पाउनेहरू खुसी भएकाछन्।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको पराकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो। आवास पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाकका स्थानीयहरू ६ वर्षपछि आफ्नै आवासमा बसेका छन्।

जग्गाहीनहरूले पनि घर बनाउनका लागि जग्गा पाएको र बस्नका लागि उचित वासस्थान पाउँदा खुसी देखिन्छन्। भारत सरकार र संयुक्त राष्ट्रसंघ विकाश कार्यक्रम युएनडिपीको संयुक्त सहयोगमा गोरखा र नुवाकोटका करिब ५० हजार घर पुनर्निर्माण सम्पन्न भएको छ।

अझै पनि गोरखामा भूकम्पबाट भत्किएका सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण गर्नसके गोरखाको मुहार फेरिने स्थानीयहरूको भनाइ छ। तीन लाखमा सरकारले बनाइदिएको घरमा अहिले आनन्द महसुस गरिरहेको उनीहरू बताउँछन्।

गोर्खा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष हरिबहादुर खनालले अहिले निर्माणसम्बन्धी अधिकांश काम सकिएको र केही विद्यालय तथा सांस्कृतिक सम्पदाका काम बाँकी रहेको बताए। उनले नेपाल सरकारले भूकम्पका कारण भत्किएका घर पुनर्निर्माणका लागि तीन लाख रुपैयाँ दिए पनि त्यो पर्याप्त नहुँदा कतिपय आवास अहिलेसम्म पनि निर्माण हुन नसकेको गुनासो गरे।

अध्यक्ष खनालले भने, ‘अहिले निर्माणसम्बन्धीका धेरै कामहरू भएका छन्। अधिकांश विद्यालय बनिसकेका छन्। बन्न बाँकी भनेको धार्मिक संरचना, मठ, मन्दिर छन्। यद्यपि धेरै स्वास्थ्यचौकी र विद्यालय बनिसकेका छन्। बन्ने क्रममा पनि केही छन्।’ तर, नेपाल सरकारले तीन लाख रुपैयाँभन्दा धेरै सहयोग गर्न नसकेको उनले बताए।

तीन लाखले पहाडी भेगमा घर बनाउन गाह्रो हुने उनले बताए। स्थानीय निर्वाचन भइसकेपछि जनप्रतिनिधिको दौडधुपले गर्दा केही नर्मल भएको उनले बताए।

आवास पुनर्निर्माणपछि स्थानीयहरू रोजगारी सिर्जना भएको र काम सिक्ने अवसरले आफ्नो आर्थिक स्थितिमा सुधार भएको बताउँछन्। युएनडिपीले आफ्नै विज्ञ इन्जिनियरहरूबाट गाउँ गाउँमा पुगेर भूकम्प प्रतिरोधी घर बनाउन सिकाएको र त्यो सीपले नै आफ्नो र परिवारको आर्थिक स्तर बढ्दै गएको बताउँछन्।

उक्त तालिम महिला र पुरुष दुवैले पाउँदा महिलालाई पनि समान अधिकार मिलेको उनीहरूको भनाइ छ। आवास निर्माण साथी डम्बरबहादुर सुनार, घर बनाउन मात्र नभएर आफूले भूकम्पबाट पीडित र त्रसित गोरखावासीलाई सम्झाउन पाएकोमा निकै खुसी लागेको बताउँछन्। उनी भन्छन्, ‘डिपीआर गरिसकेपछि घर बनाउन सक्ने स्थिति भएन। त्यसपछि भारत सरकारले फेरि अर्को परियोजना ल्याएर जस्ताहरू सहयोग गरेर काम गरे। एउटा घर जसरी भए पनि बनाउनु पर्ने भनेर सहयोग गरे। यसको लागि भारत सरकारलाई मुरीमुरी धन्यवाद।’

त्यस्तै सिक्स टेक्टिकल सर्भिसेस प्रालिका दीपक त्रिपाठीले आफ्नो कम्पनीले नेपालमा आवास निर्माण साथीहरूलाई सामाजिक, प्राविधिक र संरचनात्मक कुराहरूमा सहयोग गर्न पाएकोमा खुसी लागेको बताए। उनले नेपालमा भूकम्पबाट सुरक्षित घरहरू निर्माण गरेको बताए।

उनले भने, ‘युएनडिपी र भारत सरकारको सहयोगमा यो परियोजना सम्पन्न भएको छ । हामीले नेपालमा आवास निर्माण साथीहरूलाई सामाजिक, प्राविधिक र संरचनात्मक कुराहरूमा सहयोग गरेका छौं। यसमा हामी धेरै नै खुसी छौं। हामीले सकेसम्म सुरक्षित घरहरू निर्माण गरेका छौं।’

त्यस्तै नेपालस्थित भारतीय दूतावास उपप्रमुख खम्पा नामग्यालले भारत सरकारले भूकम्पबाट भत्किएका आवासगृह बनाउन सहयोग गरिरहेको र अझै विकासका क्षेत्रमा पनि सहयोग गर्ने बताए। उनले युएनडिपी र भारत सरकारको सहयोगमा नुवाकोट र गोरखाका ५० हजार घर पुनर्निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै भारत सरकारले नेपालमा स्वास्थ्य, शिक्षा र संस्कृतिको क्षेत्रमा सहयोग गरिरहने बताए।

उनले भने, ‘नेपाल सरकारलाई भारत सरकारले भूकम्पबाट भत्किएका आवासगृह बनाउन सहयोग गरिरहेको छ। युएनडिपी र भारत सरकारको सहयोगमा गोरखा र नुवाकोटमा गरी ५० हजार भन्दा धेरै आवास पुनर्निर्माण गरिएको छ। २०१५ को विनाशकारी भूकम्पमा परी भत्किएका घरहरूको पुनर्निर्माण गर्न पाउँदा हामी धेरै नै खुसी भएका छौं। हामीले आवास क्षेत्रको पुनर्निर्माण पूरा रूपमा सकेका छौं।’ भारत सरकारले नेपालमा स्वास्थ्य, शिक्षा र संस्कृतिको क्षेत्रमा धेरै सहयोग गरिरहेको उनले बताए।

त्यस्तै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नेपाल उपप्रतिनिधि बेर्नान्र्डो काक्कोले २०१५ मा गएको भूकम्पले भत्काएका गोरखा र नुवाकोटका आवास पुनर्निर्माणको काम पूर्ण रूपमा सम्पन्न भएको बताए। उनले युएनडिपीले यसमा सामाजिक र प्राविधिक सहयोग गरेको बताउँदै भारत सरकारको सहयोग उल्लेखनीय रहेको स्मरण गरे।

उपप्रतिनिधि बुर्नान्डोले भने, ‘२०१५ मा गएको भूकम्पले भत्काएका गोरखा र नुवाकोटका आवास पुनर्निर्माणको काम हामीले सकेका छौं। भारतले गरेको सहयोग पनि यसमा सह्रानीय छ। यसमा हामीले सामाजिक र प्राविधिक र आर्थिक सहयोग धेरै गरेका छौं।’ उपप्रतिनिधि बेर्नान्र्डोले पुनर्निर्माणका काममा आफूहरू हरेक कुरामा केन्द्रित रहेकोले सुरक्षित आवास निर्माण भएको दाबी गरे। उनले नेपाललाई यो बाहेकका अन्य विकासका क्षेत्रमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।