MENU

आनन्दले निदाउने अचुक सुत्र

अष्ट्रेलिया आएपछि मैले जम्मा दुईवटा अन्तर्वार्ता लिएको छु– २००९ को जुलाईमा नागरिक दैनिकको लागि व्यवसायी शेष घलेसँग र २०१० को सेप्टेम्बरमा नेपाली टाइम्स अष्ट्रेलियाका लागि सोलिसिटर शमसेरसिंह थापासँग ।

 

शेष घले विद्यार्थीको रुपमा अष्ट्रेलिया आएका हुन् । उनले आफूसँगै आफ्नी श्रीमती र दश वर्षे छोरालाई पनि लिएर आएका थिए । उनीहरु तीनैजना विद्यार्थी थिए । अन्य विदेशी विद्यार्थीहरु झैं घले पनि रेस्टुरेन्टमा भाँडा माझ्ने, होटेलको भुइँ सफा गर्ने र घर–घरमा पत्रिका बाँड्न हिड्ने काम गर्दथे ।

 

मेरो एउटा प्रश्नको जवाफमा उनले भने, ”शारीरिक रुपमा त दुःख नै थियो, तर म त्यतिखेर पनि अहिले जत्ति नै सुखी थिए ।” अन्तर्वार्ताकै क्रममा शमसेर थापाले पनि आफू आफ्नो जीवनसँग सन्तुष्ट रहेको बताएका थिए ।

 

उनले सुखी जीवनको प्रमाण दिँदै भनेका थिए, “म हरेक रात आनन्दले निदाउन सक्छु ।” उनको लागि त्यो सुखी जीवनको परिभाषा थियो ।

आ–आफ्ना क्षेत्रमा प्रसिद्धि कमाएका ती दुई व्यक्तिवका यी दुई साधारण उत्तरमा म ठूलो दर्शन भेट्छु । शेष घलेकै उत्तरमा घोत्लिऔ । उनले जे बोलेका छन्, त्यो वैज्ञानिक रुपमै पनि पुष्टि भइसकेको तथ्य हो ।

 

अब्राहम मास्लोको आवश्यकताका तहहरु (हाएरार्की अफ निड्स्) अथवा फ्रेडरिक हज्र्बर्गको मोडेलमा व्याख्या गरेजस्तै जब मानिसलाई आधारभूत आवश्यकताहरु– खाना, नाना र छानाकै अभाव हुन्छ, त्यतिखेर ऊ स्वभाविक रुपमा दुःखी हुन्छ ।

 

तर जब यी आवश्यकताहरु पूरा हुँदै जान्छन्, त्यसपछि उसले स्वतन्त्रता र सुरक्षा खोज्दछ र त्यो चरण पनि पूरा गरेपछि उसका चाहनाहरु क्रमशः प्रतिष्ठाप्रति, आत्मसन्तुष्टि र आत्म–अद्यतनतर्फ उन्मुख हुन्छन् ।

 

उदाहरणको लागि, भोकाएको मान्छेलाई पाउरोटी दिंदा उसले पहिलो गाँसमा असाध्यै सन्तुष्टि पाउँछ । त्यसपछिका अन्य गाँसहरुमा पनि उसले सन्तुष्टि त पाउँछ तर त्यो सन्तुष्टिको दर वा त्यसको सीमान्त उपयोगिता (माजिर्नल युटिलिटी) क्रमशः घट्दै जान्छ ।

 

एउटा तहमा पुगेपछि सम्पत्तिसँग सुखको सहसम्बन्ध टुट्छ र अतिरिक्त सम्पत्तिले अरु थप सुखको ग्यारेन्टी गर्दैन । बरु, अतिरिक्त सम्पत्ति जोड्ने क्रममा गलत र अनैतिक माध्यम अपनाइएको छ भने यो दुःखको स्रोत बन्न पुग्छ ।

 

धेरै वर्ष पहिले रिडर्स डाइजेस्टमा मैले एउटा प्रेरक कथा पढेको थिए । एउटा युवक आफ्नो मेहनत र इमान्दारीले चाँडै नै उच्च ओहोदामा पुग्छ । कामकै सिलसिलामा उसलाई एउटा “अफर” आउँछ । त्यो प्रस्ताव मान्ने हो भने उसलाई करियर र आथिर्क हिसाबले ठूलो फाइदा पुग्ने स्थिति छ ।

 

काम गैरकानुनी पनि छैन । तर उसलाई यो अनैतिक (इमोरल) हो कि भन्ने चाँहि लागिरहेको छ । ऊ धेरै दिनसम्म निर्णय लिन नसकेर छट्पटाउँछ । उसकी आमाले उसको बेचैनी थाहा पाउँछिन् र कारण सोध्छिन्। उसले सबै बताउँछ । उसकी आमा भन्छिन्, “हेर बाबु, मैले पढेलेखेकी छैन ।

 

त्यसैले तिमीले भर्खरै भनेका तिम्रो कामसम्बन्धी कुराहरु म बुझ्दिन। तर मेरो एउटै आग्रह छ– हरेक दिन बिहान जब म दूधको गिलास बोकेर तिम्रो कोठामा पस्छु, तिमी गहिरो निद्रामा हुन्छौ र मैले झक्झक्याएर उठाउनुपर्छ ।

 

तिमी कहिले पनि यस्तो काम नगर ताकि म बिहान दूधको गिलास बोकेर तिम्रो कोठामा छिर्दा तिमी अनिँदो आँखा र थकित अनुहार लिएर शिरानीमा अडेस लागेर बसिरहेको देख्नु परोस । अब त्यो दिन देख्न नपर्नको लागि जे निर्णय गर्नुपर्छ, तिमी त्यही गर ।” आमाको यो कुराले उसलाई निर्णय लिन ठूलो सहयोग पुरयाउछ र उसले त्यो अफर अस्वीकार गर्छ ।

 

“बढी पैसाकै लागि केही व्यवसायीहरुले बांगोटिंगो बाटो समाउन थालेको चर्चा पनि बढी नै सुनिन थालेका छन् । बांगोटिंगो बाटो हिंड्नेहरुले आफ्नो इज्जत र आन्तरिक शान्तिलाई पैसासँग साटिरहेका हुन्छन् । त्यसको परिणाम उनीहरु आनन्दले निदाउन सक्दैनन “

यस अर्थमा थापाले “आनन्दसँग निदाउन सक्छु” भन्नुमा ठूलो अर्थ लुकेको म ठान्छु । जो कोही मान्छे आनन्दले निदाउन सक्दैन । यही निद्राको लागि कडा औषधि, नशालु पदार्थ वा अत्यधिक रक्सीको आवश्यकता पर्नेहरु पनि विस्तारै बढ्दैछन् । अरुको अनावश्यक निन्दा गर्ने, अनैतिक र गैरकानुनी काममा संलग्न हुने, पैसाको पछाडि अन्धो भएर दौडने, स्वार्थी, घमण्डी र परपीडक स्वभाव भएको मान्छे सदैव बेचैन हुन्छ ।

 

ऊसँग भएको अथाह सम्पत्तितले उसलाई सुखको ग्यारन्टी गर्दैनन् । फ्रान्सेली वैज्ञानिक म्याथिउ रिकार्ड (जो अहिले बौद्ध भिक्षुका रुपमा नेपालको सेचेन गुम्बामा बस्छन्) लाई वैज्ञानिकहरुले संसारकै सर्वाधिक सुखी व्यक्ति घोषणा गरेका छन् । यो घोषणा त्यत्तिकै गरिएको होइन, उनको दिमागको एमआरएआई र क्याट स्क्यान गरेर नै वैज्ञानिकहरु त्यो निष्कर्षमा पुगेका हुन्। रिकार्डले आफ्नो एउटा पुस्तकमा लेखेका छन्, “यदि मलाई आवश्यक पर्ने आधारभूत चिजहरु आफूसँगग हुँदाहुँदै पनि म खुशी अनुभव गर्न सक्दिन” भने म जीवनमा कहिल्यै पनि सुखी हुन सक्दिन“ (”ह्रप्पिानेस्,” पृष्ठ ३१)।

 

हामीहरु थप सम्पत्ति कमाउनतिर लागिपरेका छौ । यो आफैमा नराम्रो भने होइन । तर जब पैसा साधन (मिन) नभएर साध्य (गोल) बन्न पुग्छ, त्यसपछि भने मान्छे निदाउन सक्दैन । मेहनत पूर्वक र इमान्दारिताका साथ धन कमाउँदा निद्रा गुम्दैन ।

 

तर विडम्बना, धेरैको लागि जीवनको लक्ष्य नै धेरैभन्दा धेरै धन कमाउनु हुनपुगेको छ । शेष घले, जो अष्ट्रेलियाकै २०० जना सर्वाधिक धनी नागरिक मध्ये पर्दछन्, उनले स्वीकारेकै छन्, साथमा त्यति धेरै धन नहुँदा र विद्यार्थी जीवनमै छँदा पनि उनी अहिले जत्ति नै सुखी थिए । अर्थात्, उनी सुखी हुनको लागि प्रशस्तै पैसा जम्मा हुनु परेन। यो नयाँ पुस्ताको लागि मननयोग्य कुरा हो

 

“फ्रान्सेली वैज्ञानिक म्याथिउ रिकार्ड (जो अहिले बौद्ध भिक्षुका रुपमा नेपालको सेचेन गुम्बामा बस्छन्) लाई वैज्ञानिकहरुले संसारकै सर्वाधिक सुखी व्यक्ति घोषणा गरेका छन् । यो घोषणा त्यत्तिकै गरिएको होइन, उनको दिमागको एमआरएआई र क्याट स्क्यान गरेर नै वैज्ञानिकहरु त्यो निष्कर्षमा पुगेका हुन्।”

डेनियल गोल्म्यानले आफ्नो करोडौं प्रति बिक्री भएको पुस्तक “अ होल न्यू माइण्ड” मा “मनी” र “मिनिङ” को चर्चा गरेका छन् । ओप्रा विनफ्रीले २००८ मा स्टाण्फोर्ड विश्वविद्यालयको दीक्षान्त समारोहमा सम्बोधन गर्ने क्रममा पनि यही कुरा दोहोयाएकी थिइन् । (यसको भिडियो तपाईं युट्युबमा हेर्न सक्नुहुन्छ।)

संयोग नै भन्नुपर्छ, हाम्रो नेपाली भाषामा यी दुबै शब्दको माने ”अर्थ” हुन्छ । कुनै अर्थपूर्ण काम नगरी वा अनैतिक काम गरी ”अर्थ” कमाउनु र यसलाई अर्थपूर्ण रुपमा सदुपयोग नगर्नु अर्थहीन जीवनको प्रमाण हो । भानुभक्तले लेखेका थिएः

 

दरिद्र नाउँ नरमा छ कसको ?
विशाल तृष्णा घरमा छ जसको ।
को हो धनी सब नरले कह्राँको?
सन्तोषले छ जो खुशी रह्राँको।

 

हाम्रा आदिकविले डेढ सय वर्ष अगाडि जे भनेका थिए, आजको आधुनिक संसारमा त्यो झन् सान्दभिर्क भएको छ । निरपेक्ष गरीबीको दर विश्वमा घट्दैछ, तर मानिसका आकांक्षाहरु चुलिंदा छन् र उनीहरु झन् दुःखी हुँदैछन् ।

 

“मिनिङ”लाई छोडेर “मनी” को पछाडि मान्छे कुँदेको कुदेकै छ । परिणाम के भएको छ भने अपराध बढ्दो छ, सामाजिक विकृतिहरु बढ्दै छन्, र मानिसको जीवन झन् झन् कष्टकर बन्दैछ ।

 

गान्धी आफ्ना भाषण र लेखमा “सात महापाप” को चर्चा बारम्बार दोहोयाउने गर्दथे । गान्धीले भन्ने गरेका ती सात महापाप हुन्– काम नगरी धन कमाउनु, विवेकबिनाको मस्ती, मानवताबिनाको विज्ञान, चरित्रबिनाको ज्ञान, सिद्धान्तबिनाको राजनीति, नैतिकताबिनाको व्यवसाय र त्यागबिनाको आराधना ।

 

घले र थापाजस्तै अहिले कैयौ अष्ट्रेलियावासी नेपालीहरु विभिन्न व्यवसायमा संलग्न छन् र यो क्रम बढ्दो छ । आथिर्क हिसाबले प्रायः सबैले राम्रै गरेका पनि छन् । तर विडम्बनापूर्ण नै भन्नुपर्छ, बढी पैसाकै लागि केही व्यवसायीहरुले बांगोटिंगो बाटो समाउन थालेको चर्चा पनि बढी नै सुनिन थालेका छन् । बांगोटिंगो बाटो हिंड्नेहरुले आफ्नो इज्जत र आन्तरिक शान्तिलाई पैसासँग साटिरहेका हुन्छन् । त्यसको परिणाम उनीहरु आनन्दले निदाउन सक्दैनन् । 

 

पहिलो पटक अस्ट्रेलियाको नेपालीपत्रमा २०११ मा प्रकासित लेखको पुन प्रकासन ।

 

लेखक अस्ट्रेलियाको सिड्नीमा सक्रिय ब्यवसायि हुन् ।

[email protected]