MENU

कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या ९५ पुग्यो, ७ हजार भन्दाबढी संक्रमित 

विश्वका विभिन्न देशमा, कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या ९५ पुगेको छ।

ज्यान गुमाउने ७७ पुरुष र १८ महिला छन्। झन्डै ७ हजार जना संक्रमित भएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विश्वका ३० देशमा गरेर ६ हजार ७ सय ८१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका हुन्।

मृतक ९५ मध्ये सबैभन्दा बढी बेलायतवासी ६३ नेपाली छन्। यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १५ नेपालीले ज्यान गुमाएका छन्।

यसैगरी संयुक्त अरब इमिरेट्स्ट (युएई) मा ९, साउदी अरबमा २, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, बहराइन र स्विडेनमा १र१ नेपालीको मृत्यु भएको छ।

पछिल्लो साता मात्र कोरोनाका कारण यूकेमा १२, यूएईमा ३ र साउदी अरबमा २ नेपालीको मृत्यु भएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए।

कोरोनाबाट ११ देशमा गैरआवासीय नेपालीको मृत्यु भएको हो भने १९ देशमा संक्रमित भएको एनआरएनएले जनाएको छ ।

स्वास्थ्य समितिका अनुसार कतारमा २ हजार ५ सय, अमेरिकामा १ हजार ६ सय, यूकेमा १ हजार २ सय २१, बहराइनमा ३ सय ११, यूएईमा २ सय, कुवेतमा ८४, साउदी अरबमा ६ सय ७४, मलेसियामा ४९, तथा पोर्चुगलमा २९ नेपाली कोरोनाबाट संक्रमित भएका छन्।

यसैगरी आयरल्यान्डमा २२, स्पेनमा १३, क्यानाडामा १३, अस्टे«लियामा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा ६, स्विडरल्यान्डमा ५, जर्मनी ४, फिनल्यान्डमा ४, साइप्रस ३, न्युजिल्यान्ड ३, माल्टामा २, हङकङमा २, पोल्यान्डमा २, म्यानमारमा १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको समितिले जनाएको छ।

एनआरएनएले विभिन्न ४९ देशका ३ सय क्षेत्रमा १ हजार ६ सय भन्दा बढी स्वयमसेवक र स्वास्थ्य सेवामा ७० भन्दा बढी चिकित्सक परिचालन गरिएको पनि जनाएको छ।

मलेसिया, यूएई, साउदी अरब, कुबेत, बहराइन, स्पेन, पार्चुगल, इटली, माल्टा, साइप्रसमा संघले करिब ५५ लाख रुपैयाँ आर्थिक सहयोग समेत पठाएको बताइएको छ।