MENU

नेपालमा साउन ७ गतेसम्म लक डाउन कायमै रहने

काठमाडौं, नेपाल ।

नेपालमा आगामी साउन ७ गतेसम्म लक डाउनको हालकै प्रावधान लागु हुने भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन सेन्टर सिसिएमसीको सोमबारको बैठकले, सार्वजनिक यातायात, आन्तरिक तथा बाह्य हवाई उडान लगायत बढी भिडभाड हुने क्षेत्रमा जारी प्रतिवन्ध कायमै राख्ने निर्णय गरेको हो ।

बैठकले होम क्वारेन्टिन बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई उपत्यका भित्रिन दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयको मापदण्डअनुसार सिसिएमसीले स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आउनुपर्ने र होम क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने निर्णय गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ । हवाई तथा स्थलमार्गबाट आउने सबैलाई यो नियम लागू हुनेछ ।

मन्त्रिपरिषद्को अनुमोदन

यसैबीच सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने सिसिएमसीको निर्णय अनुमोदन गरेको छ ।

यो निर्णयअनुसार अब साउन ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन् ।

निजी सवारीसाधनमा पनि जोर विजोर प्रणाली कायमै रहने छ भने उद्दार बाहेकका सबै हवाई उडान बन्द हुनेछन् ।

त्यस्तै विद्यालय तथा शैक्षिक संस्था बन्द रहनेछन् भने सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू संचालन गर्न पाइने छैन् ।