MENU

नेपाली फुटबल टिमका पूर्व कप्तान सागर थापासहित सबैलाई सर्वोच्चको सफाइ

काठमाडौं, नेपाल ।

नेपाली फुटबल टिमका पूर्व कप्तान सागर थापा सहित म्याच फिक्सिङको अभियोग लागेका सबै खेलाडीले सफाइ पाएका छन् ।

मंगलबार सर्वोच्च अदालतले, विशेष अदालतकै फैसला सदर गर्दै तत्कालिन फुटबल टोलीका कप्तान थापा सहित उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री, पूर्वखेलाडी अन्जन केसी र डेबिड थापालाई अन्तिम सफाइ दिएको हो ।

सर्वोच्चबाट सफाई पाएपछि पुर्व कप्तान थापाले सत्यको जीत भएको भन्दै फेसबुक मार्फत खुसी व्यक्त गर्नुभएको छ ।

सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै मुद्धाको कानुनी आधारमाथि प्रश्न उठाएको छ।

यसअघि विशेष अदालतले, २०७५ जठ २४ गते म्याच फिक्सिङ सम्बन्धी कानुन नभएको भन्दै सफाइ दिएपछि उनीहरुविरुद्ध राज्यविरुद्धको कसूरमा मुद्धा चलाइएको थियो ।

विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा तत्कालिन कप्तान सागर थापासहित खेलाडीलाई पक्राउ गरेको थियो ।

२०७२ साल असोज २७ गते प्रहरीको अपराध महाशाखाले, नेपालले सन् २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर जानीजानी हारेको भेटिएको भन्दै उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुले खेल मिलेमतो गर्दा प्रति खेल ५ हजार डलरदेखि लिने गरको प्रहरीको दावी थियो ।