MENU

बालमोरल फायर सर्भिसलाई नेपाली समुदायको सहयोग

Nepalese Australian

“दुःखका बेला नेपाली समुदायले पटकपटक सक्दो सहयोग गरिरहेको र आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु ।” अस्ट्रेलियन सांसद नेथानियल स्मिथ

सहयोग हस्तान्तरण कार्यक्रममा सहभागि नेपली समुदायका सदस्यहरु

सिड्नी । साउथ वेष्ट नेप्लिज कम्युनिटी सिड्नी तथा अर्घाखाँची समाज अस्ट्रेलियाले बालमोरल रुरल फायर सर्भिसलाई दुई हजार अस्ट्रेलियन डलर सहयोग गरेका छन् । गत अगष्ट १२ तारिख बुधबारका दिन दुवै संस्थाको तर्फबाट  दुई हजार अस्ट्रेलियन डलर बराबरको चेक न्यू साउथ वेल्स राज्यका सांसद लुइस अमाटो र ‘वलनडिलीका लोकल मेम्बर’ नेथानियल स्मिथको सहभागितामा बालमोरल रुरल फायर स्टेसनका डेपुटी क्यापटेन स्कट मार्कलाई हस्तान्तरण गरिएको थियो ।

चेक साउथ वेष्ट नेप्लिज कम्युनिटी सिड्नीका तर्फबाट एक हजार डलर अध्यक्ष देवेन्द्र सापकोटा तथा अर्घाखाँची समाज अस्ट्रेलियाकाे  तर्फबाट पनि एक हजार डलर संस्थाका अध्यक्ष नारायण खनालले संयुक्त रूपमा बालमोरल रुरल फायर सर्भिसको कार्यालयमा हस्तान्तरण गरेका थिए ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै न्यू साउथ वेल्स राज्यका सांसद लुइस अमाटोले सहयोगका लागि नेपाली समुदायलाई धन्यवाद दिँदै न्यू साउथ वेल्स राज्यका दक्षिण–पश्चिम क्षेत्रका कृषकहरूलाई ठूलो असर पारेको जानकारी दिए । साथै उनले यस सम्बन्धी संसदमा कुरा उठाएर राज्यका तर्फबाट पीडितलाई सहयोग गर्न पहल गरेको पनि बताए ।

गत वर्षको बुसफायरबाट ठूलो जनधनको क्षति भएको जानकारी दिँदै स्थानीय सांसद नेथानियल स्मिथले दुःखका बेला नेपाली समुदायले पटकपटक सक्दो सहयोग गरिरहेको र आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा रहेको आशा व्यक्त गरे ।

साउथ वेष्ट नेप्लिज कम्युनिटी सिड्नीका तर्फबाट एक हजार डलरको चेक हस्तान्तरण
गर्दै अध्यक्ष देवेन्द्र सापकोटा ।

साउथ वेष्ट नेप्लिज कम्युनिटी सिड्नीका अध्यक्ष देवेन्द्र सापकोटाले सो सहयोग सानो देखिए पनि समुदायमा सकारात्मक सन्देश दिनका लागि गरिएको बताए । “सन् २०१९ मा भएको बुसफायरका कारण समुदायका लागि केही गर्न सकिन्छ कि भन्ने उद्देश्यका साथ हामीले खानेकुरा बाँड्नुका साथै गोफन्ड मार्फत् अर्थ सङ्कलन अभियान समेत चलाएका पनि थियौँ । त्यसबखत उठेको रकममा केही थप गरी १ हजार अस्ट्रेलियन डलर बालमोरल फायर सर्भिस’का लागि हामीले उपलब्ध गराएका हौं । यो पैसा उनीहरूले चाहिने सामग्री खरिद गर्नका लागि उपयोग गर्नेछन् ।” अध्यक्ष देवेन्द्र सापकोटाले नेप्लिज अस्ट्रेलियन सँगकाे कुराकानीमा बताए ।

गत वर्षको बुसफायरका कारण न्यू साउथ वेल्स राज्यको दक्षिणी हाइल्याण्ड क्षेत्रपनि प्रभावित भएको थियो । सो आगलागीबाट बालमोरल रुरल फायर सर्भिसका २ जना अग्नि नियन्त्रकहरूले ज्यान समेत गुमाएका थिए । त्यसबेला साउथ वेष्ट नेप्लिज कम्युनिटी सिड्नीले २० डिसेम्बर २०१९ मा १ सय ८० जना अग्नि नियन्त्रकहरूलाई बेलुकीको खाना समेत खुवाएर सहयोग गरेको थियो ।

अर्घाखाँची समाज अस्ट्रेलियाकाे तर्फबाट एक हजार डलरको चेक हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष नारायण खनाल ।

अर्घाखाँची समाज अस्ट्रेलियाका सचिव मिनराज भूषालले गत वर्ष बुसफायरको प्रकोप रहेका बेला समाजले बुशफायर रिलिफ फण्ड बनाएर त्यसमा सकेको सहयोग जम्मा गर्दै आएको र सोही रकम बालमोरल रुरल फायर सर्भिस स्टेसनलाई गरेको बताए ।

“ठूलो ठाउँमा भन्दा सानो ठाउँमा सहयोग दिँदा थोरै भए पनि केही उपकरण किन्नका लागि सहयोग होला भनेर हामीले यो सानो सहयोग गरेका हौं । अर्घाखाँची समाज अस्ट्रेलियाले प्रत्येक वर्ष तीज, क्रुज पार्टी, ब्लड डोनेसन लगायतका सामुदायिक कार्यक्रमहरू गर्दै आइरहेको छ । अहिले कोभिडले गर्दा केही कठिनाइ अवश्य भएको छ । आगामी दिनमा हाम्रा कार्यक्रमले निरन्तरता पाउने नै छन् ।” सचिव भूषालले भने ।

समाजले अस्ट्रेलिया बाहेक अर्घाखाँची जिल्लामा समेत विभिन्न सहयोगका कार्यक्रमहरू गर्दै आइरहेको छ ।

चेक हस्तान्तरण कार्यक्रममा साउथ वेष्ट नेप्लिज कम्युनिटी सिड्नीका तर्फबाट अध्यक्ष देवेन्द्र सापकोटा, महासचिव प्रेम शाह, सचिव प्रज्वल भट्टराई, प्रवत्ता सूर्य खनाल, कोषाध्यक्ष मीनराज भूषाल, पब्लिक अफिसर हरि अधिकारी, सदस्यहरू चुन्ना क्षेत्री, कमल भण्डारी उपस्थित थिए ।

यस्तै अर्घाखाँची समाज अस्ट्रेलियाको तर्फबाट अध्यक्ष नारायण खनाल, मीनराज भूषाल सचिव, सदस्यहरू प्रेम शाह सदस्य ईश्वर खनाल तथा अस्ट्रेलिया भ्रमणमा रहेका अर्घाखाँची जिल्लाका समाजसेवी जनार्दन खनाल लगायतको उपस्थिति थियो ।