MENU

राजनीतिबाट सन्यास लिने अस्ट्रेलियाका अर्थमन्त्रीको घोषणा

Nepalese Australian
Australian Minister for Finance Senator-Mathias Cormann
Australian Minister for Finance and Senator-Mathias Cormann Photo: Mathias Cormann’s Facebook

सिड्नी । प्रधानमन्त्री स्कट मरिसनको नेतृत्व मन्त्रीमण्डलका एक वरिष्ठ मन्त्री माथियाज कोरम्यानले यसै वर्षको अन्त्यमा राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । तर सो अवधिका लागि उनी अर्थ मन्त्रीको पदमा भने रहिरहनेछन् ।

“आगामी निर्वाचनमा सहभागी नहुने निश्चित गरिसकेको तथा प्रधानमन्त्रीलाई यसै वर्षको अन्त्यबाट आफ्नो राजनीतिक जीवनको अन्त्य गर्ने बताइसकेको छु,” एक विज्ञप्ती मार्फत कोरम्यानले बताए । “जिम्मेवारी हस्तान्तरण गर्नुपूर्व आफूसँग कडा मेहनत गर्नका लागि अझै ६ महिना बाँकी रहेको र सो समयमा कोरोना भाइरसको संक्रमणलाई व्यवस्थापन गर्ने तथा अर्थतन्त्र व्यवस्था सुधार र रोजगारीको पुर्नव्यवस्थापनका लागि पाँच वर्षे कार्ययोजनामा सहयोग गर्नु रहेको छ।” उनले थपे ।

सन् २०१३ देखि अर्थमन्त्री रहेका कोरम्यानले सन् २००७ मा संघीय राजनीतिमा प्रवेश गरेका थिए भने सन् २०१७ मा सत्तारूढ लिभरल पार्टीकाे तर्फबाट माथिल्लाे सदनमा  चुनिएका थिए ।

स्कट मरिसनलाई प्रधानमन्त्री बनाउन सन् २०१८ मा मालकम टर्नवललाई सहयोग गर्नबाट पछि हट्दै पिटर डट्टनलाई समर्थन गरेको कारण कोरम्यान पार्टी राजनीतिकाे बिवादमा मुछिएका थिए ।  मालकम टर्नवलले उनीमाथि आफ्नो सरकारलाई ध्वस्त पारेको आरोप लगाएका थिए ।

कोरम्यानले बाँकी छ महिनामा प्रधानमन्त्री तथा ट्रेजरर जोस फ्राइडेनवर्गसंग मिलेर जुलाई महिनामा आउने वित्तिय विवरण, अक्टोवरमा आउने बजेट तथा डिसेम्बरमा आउने अर्धबार्षिक वजेटको काममा सहयोग गर्ने जानकारी गराए ।

वेल्जीयममा जन्मिएका ५९ वर्षीय कोरम्यानले सन् १९९५ मा अस्ट्रेलियाको भ्रमणका क्रममै अस्ट्रेलियामै बस्ने निधो गरेका थिए । हेलेसंग विवाह गरेका कोरम्यानका दुई छोरीहरु इसावेल र चार्लोट रहेका छन् ।

राजनीति छाडेपछि उनी अर्गनाईजेसन फर कोअपरेसन एण्ड डेभलपमेन्ट भन्ने संस्थामा काम गर्ने अनुमान गरिएको छ ।