MENU

कुवेतबाट २ सय ९९ नेपाली स्वदेश फर्किए

कुवेतबाट  २ सय ९९ महिला नेपाली कामदार नेपाल आएका छन्।

कुवेत सरकारले आफ्नै खर्चमा जजिरा विमानमार्फत पठाएका उनीहरु सबै आम माफी पाएकाहरु हुन्।

बिहिबार बिहान साढे ११ बजेदेखि २ बजेसम्ममा आएका दुइवटा विमानबाट कुल २ सय ९९ नेपाली महिला नेपाल उत्रिएका हुन् । पहिलो विमानमा एक सय ५० र दोस्रो विमानमा एक सय ४९ जना नेपाली स्वदेश फर्किएका छन्।

कुवेतमा अवैधरुपमा बसिरहेका र आपराधिक क्रियाकलाप गरेको आरोप लागेका उनीहरुलाई कुवेत सरकारले माफी दिएको थियो।

त्रिभुवन विमानस्थलबाट उनिहरुलाई प्रदेशअनुसार होल्डिङ सेन्टरमा लगिएको छ। त्यहाँबाट उनिहरुले प्रदेश वा स्थानीय निकायका क्वारेन्टाइन वा होटल क्वारेन्टाइनमा पठाइने छ।

यसअघि केही दिनअघि दुबईको विभिन्न कम्पनीले आफै पैसा खर्च गरेर एक सय ६८ जना नेपाली कामदारलाई नेपाल पठाएका थिए।

म्यानमारले पनि त्यहाँ अलपत्र २६ जना नेपालीलाई सैनिक विमानमार्फत नेपाल पठाएको थियो।