नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’ मा संगीतकार शान्ति ठटालले धुन भरेको मुना-मदन प्रस्तुत भएको छ।
कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत मुना-मदनले प्रेक्षायलमा उपस्थित श्रोता, दर्शक भावुक बनेका थिए। गायक, गायिका र वाद्यवादकबीच हार्मोनियमका साथ उपस्थित शान्ति ठटालको मुहारमा पनि भावुकता झल्किएको थियो।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुना–मदनमा शान्ति ठटालले सन् ७७ ताका संगीत भरेकी थिइन्। उनकै अगुवाइमा गान्तोकमा पनि यसको प्रदर्शन भएको थियो। गीति–नाटककै स्वररूपमा प्रदर्शित सो कृतिका धुनको अभिलेख भने थिएन। नेपालयको अनुरोधमा शान्ति ठटालले मुना–मदनका पुराना धुन परिमार्जन गर्दै पलेँटी टिमका साथ प्रस्तुत गरेकी हुन्।
यसपालीको पलेँटीलाई शान्ति ठटालको लामो सांगीतिक जीवनको उत्सवका रूपमा प्रस्तुत गर्ने उद्घोष गरिएको कार्यक्रमलाई दुई भागमा विभाजन गरिएको थियो।
कार्यक्रमको पहिलो चरणमा ठटालको गायन यात्राको चर्चा गर्दै उनका चारवटा गीत प्रस्तुत भएका थिए। पलेँटीबाटै आफ्नो सांगीतिक जीवनलाई सक्रिय बनाएकी मीना निरौलाले ठटालका पुराना गीत सुनाएकी थिइन्।
‘म सानैदेखि गीत गाउनमा रुचि राख्थेँ’ कुनै सभा–समारोहबाट गाउने निम्ता आयो भने स्कुल पोसाकमै दौडन्थेँ। संगीतको त्यही मोहले संगीतका हस्तीहरूसँग संगत गर्ने मौका जुर्यो। त्यही क्रममा संगीतकार अम्बर गुरुङले रचेर धुन भरेको ‘सम्हालेर राख’ गाउने मौका जुर्यो उहिल्यै राजा महेन्द्रको जन्मोत्सवमा काठमाडौं आएका बखत रेडियो नेपालमा रेकर्ड भएपछि यो गीतले मलाई यता पनि चिनायो, ‘शान्ति ठटालले जानकारी गराएसँगै मीनाले सुनाइन्, ‘सम्हालेर राखः संगालेर राख, फेरि फुल्ने हो कि होइन जीवनको फूल?’
कार्यक्रमको दोस्रो गीत कवि बैरागी काइँलाले रचेको मधुर गीत थियो। कवि काइँला दार्जिलिङमै विद्यार्थी छँदा अम्बर गुरुङले नै संगीत भरेको ‘मेरो दुखी मन’ रेडियो नेपालमा एक्कै दिन रेकर्ड भएका थिए। ‘त्यो दिन काठमाडौं घुमेर थाकेकै अवस्थामा रेडियो नेपाल घुम्न पुगेका थियौं। त्यही दिन अरुणाको स्वरमा पनि सातवटा गीत रेकर्ड भएका थिए।‘
यो जानकारीसँगै शान्तिले आफूहरूलाई सहर घुमाएर रेडियो नेपाल पुर्याउने गायक पुष्प नेपालीको सम्झना गरिन्। उनको यो सम्झनासँगै मीनाकै स्वरमा ‘मेरो दुखी मन, सपना नखोज’ गुञ्जिएको थियो। शान्ति ठटालको गायन यात्राको चर्चासँगै प्रस्तुत भएको तेस्रो गीत ‘आकाश झुक्यो, धरती उठ्यो, खेल हो कि मेल हो, तृष्णा मेट्ने पानी पाए, पिउने हो कि भेल हो’ ले ‘आर’शाला गुञ्जायमान भयो।