MENU

अस्ट्रेलिया र नेपालको ईतिहास र वर्तमानमा घोत्लिदा

Article on Australia Day by Nabarj Kharal- Sydney Australia
अहिले लामो समयबाट मान्दै आएको “अस्ट्रेलिया दिन ” लाई युरोपियन लगायत र अन्य आप्रवासीको लागि खुशीको दिन भए पनि मूलवासी अस्ट्रेलियनको लागि मुलुक कब्जा गरिएको दिन मान्दा रातो गर्धन हुने सेतो रङका अतिबादीको उग्र समर्थन वा आप्रवासीहरुलाई पुरै सराप्नु अतिबाद हो जस्तो लाग्छ।

ईतिहासलाई खोट्याएर आदर्शबादी, विद्वान वा स्तम्भकार हुनुभन्दा बिगतलाई दुरुस्तै अभिलेख राखेर बर्तमानमा सहअस्तिवमा र प्रेममा, भाईचारामा जिउनु एक्काइसौ सताब्दीको समाज बिज्ञान कला हुनु पर्छ । १७७० वा १७८८ त्यो भन्दा अगाडिका पुस्ताका आप्रवासी घुमन्ते नै थिए त्यसै पनि जुनसुकै नियतले वा बेलायतले अपराधीलाई तडीपार गर्न पठाएको जे कारणले भए पनि त्यो बेलाका कुनै पनि ब्यक्ति आज जिवित छैनन् ।

अहिलेको सेतो पुस्ताको लागि पनि ईतिहासको बिस्तारबादी बिल्ला भिराउनु अल्पज्ञान हो तर अझै पनि फरक रङको बिभेदको लागि “ब्ल्याक लाइव्स म्याटर” जस्ता आन्दोलन गर्नु पर्ने बाध्यता आउनुले वा एउटा तहको समाजले अर्कोलाई स्टिग्माटाइज गर्नु अहिलेका चुनौती रहेका छन् ।

आगामी दिनमा यो दिनलाई नयाँ त्रि कोणिय परिभाषा सहित खुशीसाथ मनाउनु बुद्धिमत्ता हुनेछ । यो सुन्दर देशका आधिकारिक मालिक र रक्षकहरुको उच्च सम्मान सदैब हुनै पर्छ । अब आएर क्याप्टेन कुक वा आर्थर फिलिपहरुको आगमनको रीस उनीहरु भन्दा सात पुस्ता पछाडिको मरिसन अल्बानिजीहरु माथि पोखेर हुँदैन ।

ईतिहासको आजको मानव चेतनाले आफु खुशी व्याख्या मात्र गर्न सकिएला तर त्यो समय र ततकालिन परिवेश उल्टो पार्न सकिन्न । उनीहरुको आगमन संगै आधुनिकता, बिकास, शिक्षा, स्वास्थ्य क्षेत्रमा क्रान्ति पनि आएको छ । त्यो संगै नयाँ कन्विक्ट भएर नभै आफ्नो आवश्यकताले ल्याइएका भित्र्याईएका पासपोर्ट र भिसा मार्फत आएका अर्को धारले पनि यो दिनमा यो मुलुकलाई आजको अवस्थामा ल्याउन खेलेको भूमिकाको लागि अपनत्व महसुस गर्न पाउनु पर्छ ।

अष्ट्रेलियाका मौलिक धर्तीका मालिकहरुले पनि सेतो छाला देख्दा उहिलेको पुराना कुरा सम्झेर घृणा भावलाई क्षमाभावमा बदलेर विशाल हृदयको करुणामयी उच्च सबैभन्दा सहनशीलता भएको जातिको रूपमै नाम कमाउनु पर्छ भने त्यो बाहेकका हामी सबैले यस्को ऐतिहासिक महत्वको सुन्दर बिकसित देश बन्नुमा आ आफ्नो भूमिकाको कदर हुने परिस्थिति निर्माण गरेर यो दिनलाई सम्झिनु सान्दर्भिक हुन्छ होला ।

यो देश आज जे छ सबैको कारणले छ । यो धर्तीका आधिकारिक मालिकले यस्तो सर्ब प्राचीन सभ्यता जोगाए ! बेलायती उपनिवेशले आधुनिकता र आप्रवासीले बिकास र बहु सांस्कृतिक पहिचान जोडेर विश्वका सबै मुलुकका र क्षेत्रका कला, भाषा, परिकार र पहिरनले यो देश सुन्दर इन्द्रेणी बनेको आजको यथार्थ हो अरु पढ्ने बुझ्ने तर्क र बहस गर्ने कुरा मात्र हो ।

अस्ट्रेलियालाई नजिकबाट चिन्दा

केही समय अघि करिब १० दिनको अस्ट्रेलिया भित्रकै आन्तरिक पर्यटक बनेर तस्मानियाको यात्रा गर्ने सौभाग्य जुट्यो । नेपालदेखि सासु ससुरा पनि आउनु भाको अनि छोरा छोरीको स्कुलको बिदाले यो संयोग जुट्यो । यात्राले यो भूमी जता गए पनि सुन्दर छ भन्ने त भयो तर सबै भन्दा रमाइलो र गजब यो देशको ईतिहासका केही कुराले मलाई छोयो । अनि आफ्नो जन्म देश र यो कर्म देश बीच तुलना गरेर यात्रा अवधिभर मनभरी कुरा खेली रहे । आज अस्ट्रेलिया पूर्ण प्रजातन्त्र, मानव अधिकार, विधिको शासन र लोक कल्याणकारी राज्यको विश्व नमुना हो ।

हामी जनताले वा हाम्रा साशकले कहिले पनि यस्तो क्रुर अपराध गरेको ईतिहास छैन । चिनिया यात्रीहरु फाक्सेन (c.337-422)and हुयेनसानको (Xuan Zhang c. 602-664) यात्रा संस्मरणले नेपाल अत्यन्तै सहिष्णु समाज रहेको चित्रण गरेका थिए । करिब ३०० बर्ष अघि पृथ्वीनारायण शाहले देश एकीकरण गर्दा एकीकरण गर्न सम्झाए । कुनै राज्यसँग नाता गाँसे । जस्ले मानेनन् ति संग मात्र लडे । युद्धमा हारेर आत्म समर्पण गर्नेहरुको सुरक्षानुभुति हुने गरि राजपाट सन्चालन गरे । बीजित क्षेत्रमा रहेका मठ मन्दिरमा त्यहाँका जाति जनजातिको आधिपत्यलाई लालमोहर लगाएका थिए । त्यसले गर्दा अहिले सम्म गोर्खा, मनकामना र पाल्पामा मगर पूजारी रहेका, जनकपुर र गढिमाइमा मधेसी पूजारी काठमाडौंका थुप्रै मन्दिरमा नेवार अनि पूर्बका बुढा सुब्बा, किरान्तेश्वर, दन्त काली आदिमा राई लिम्बुकै अधिकार सुरक्षित गरेका थिए । हामीले हाम्रा मौलिकताको गर्ब रक्षा र प्रवर्धन गर्नु पर्छ । ईतिहासको तोडमरोड गर्नेलाई कारबाही गर्नु पर्छ ।

ईतिहास जस्ताको तस्तै सुरक्षित राख्नुपर्छ भन्ने कुरा मलाई हालैको अस्ट्रेलियाको टापु राज्य तास्मानियाको पोर्ट आर्थर जादा त्यहाँ रहेका दस्तावेजहरुको अध्ययनले सामान्य राजाको टिप्पणी गर्ने होस् वा एक पिस पाउरोटी चोरेको, हामीले सानो छँदा खाने गरेका कसमहरु कालो कोर, बिद्द्या नस्ट, गाइको मासु खाने अझै खराब र निम्न स्तरको आमाको पोई जस्तै बेलायतीले प्रयोग गर्ने निर्लज्ज ” F” वा ” MF” शब्द बोलेकै भरमा होस् वा आफु माथिको duke वा elite लाई स सम्मान नबोलेकै भरमा convicts मानेर महिनौं राखिएका थुप्रै स्थान मध्येको एक को भ्रमणले अझ सुष्पष्ट पारिदियो ।

हाम्रो ईतिहास बिगार्ने कथित बिकाउ नेता, धार्मिक साम्राज्यको खेती गर्नेका स्थानीय दलालहरुले पृथ्वीनारायणलाई गलत सावित गर्न, नेपाल स्थापित हुनु नै अपराध मान्ने बिचारलाई मलजल गर्न, नेपालका साँस्कृतिक पर्व तीज, स्वस्थानि, दशै, तिहार माथि कथित नारीवादी वा उदारवादी भनिएका स्तम्भकारलाई पैसा पेलेर हरेक बर्ष आक्रमण र अपमान गरी लेख आलेख लेखेर राष्ट्रिय पत्रिकामा छाप्ने भनेको हाम्रो मौलिकता मास्ने षड्यन्त्र हो । त्यसरी लेख्दा पनि हामी उनीहरुको बिरुद्ध जाईलाग्ने गर्दैनौ किनकी हामी सहिष्णु छौं । हामीकहाँ कृपया गौ हत्या नगरिदेउ भन्दा गाई खान पाउनु पर्छ भन्ने सुनिन्छ । त्यस्तो माग गरी राख्न उक्साइएको छ ।

कुनै पनि इशाई मुलुकमा बाइबल र जिससको बिरुद्ध कसैले कलम चलाएर देखाओस, त्यस्तै इस्लामिक मुलुकमा कुरान र मोहम्मद बिरुद्ध कलम चलाएर देखाओस, ति लेख लेख्नेहरु मारिने, बहिस्कृत हुने वा देश निकाला हुने कुरा त सलमान रुश्दी, तस्लिमा नसरिन आदिको हालत देखेर थाहा हुन्छ । तर हामी हाम्रा कला, धर्म र संस्कृति माथि भएका खुल्ला हमलाको साक्षी बनेका छौं ! देशकै निर्माता एकीकरण अभियन्ता राष्ट्र नायकलाई अपमान गर्ने नेता र पार्टीको अत्याचार सहेका छौं । राजनीतिक अपहरण गरेर नेपाली जनताको स्वीकृति बिनै हामीलाई संघीयता, धर्म निरपेक्षता र गणतन्त्र लादिएका बेला पनि हामी मुकदर्शक बन्यौं । हाम्रो यस्तो बोकदत्ते सहनशीलता नै नेपाल र नेपालीको पतनोन्मुख बाटो हो ।

हामी हाम्रा गौरवको रक्षा गर्न लागि पर्नु पर्छ न कि पश्चिमाको दर्शनको वकालत गर्दै आफ्नै देशको बिनास । कुनै गर्ब गर्न लायक ईतिहास छैन यूरोपियन, अमेरिकन वा अन्य कुनै पास्चत्य देशको । ५० बर्ष अघि मात्र उनीहरुको ईतिहास क्रुर र आपराधिक छ । अहिले पनि उत्तरी अफ्रिका र मध्य पूर्वको मानवताको नरसंहारमा पश्चिमा कै हात रहेको छ।

हामी अहिले आएर नजान्ने जस्तो अथवा केहि सभ्यता नै नभए जस्तो हुनुमा समयक्रममा हुनुपर्ने नेतृत्वको अदुरदर्शिता नै हो । हामीलाई आफ्नै मौलिक हिन्दु बुद्ध संस्कृतिका गहन, धनि मानवता र सहिष्णुताले ओतप्रोत फराकिलो ईतिहासको बिर्सना र पश्चिमाको तामझाम तिर्सनाले यस्तो लाग्छ उनीहरु आदिमकाल देखि नै सुसंस्कृत र सभ्य थिए भन्ने ठान्नु “सौ चुहे खाके बिल्ली चली हज” जस्तै हो भने हामीले आफुलाई गँवार देहाती ठान्नु नाइटोमा कस्तुरी बोकेर कहाँ बाट बास्ना आयो भन्दै खोजि हिंड्ने अनि अन्तिममा शिकारीको पासोमा पर्ने कस्तुरी मृग जस्तै भएको अवस्था हो ।

उनीहरुको भन्दा हाम्रो इतिहास नै गौरबशाली छ । हामीकहाँ आपसी काटमार, सहिष्णुता र मानवीयतामा केही संकट राणा कालमा र माओवादी द्धन्दको दौरान मात्र देखा परेको भए पनि यूरोपियनको बर्बरताले भरिएको ईतिहास अघि त्यो नगन्य नै मान्नु पर्छ । समाजमा रहेको सकारात्मक सोंचले नै ति केही जर्जर अवस्था पनि धेरै बेर टिक्न सकेनन । राणा नै भए पनि चन्द्र शम्सेरले सती उन्मुलन र पाठशाला खोल्ने कदम चालेका थिए ।

हामी कहाँ हाम्रो ईतिहासलाई जोगाउने त्यसबाट सिक्ने र अगाडि बढ्ने काम भएन र पछि परेका छौं तर पश्चिमाहरु जति नै क्रुर र लाज लाग्दो ईतिहास भए पनि त्यसलाई दुरुस्त राखेर सभ्य र आधुनिकता तर्फ बढेका छन् । नेपालीले पश्चिमा सँग सिक्नु पर्ने सभ्यता, कला, धर्म र संस्कृति नभई प्राचीन र आधुनिकता बीचको समन्वय हो जस्तो मलाई लाग्छ ।

हाल सिड्नी अस्ट्रेलिया

याे पनि पढ्नुहाेस् ।

डरमाथि विजय प्राप्त गर्ने सरल उपायहरू