MENU

टी २० क्रिकेट विश्वकपको ऐतिहासिक उपाधि अस्ट्रेलियालाई

Australia wins their first T20 World Cup over New Zealand

न्युजिल्यान्डलाई फाइनलमा ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलो पटक आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार राति युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर फिल्डिङ रोजेको अस्ट्रेलियाले १ सय ७३ रनको लक्ष्य पाएको थियो ।

कप्तान केन विलियमसनको ८५ रनको अर्धशतकीय इनिङ प्रेरित न्युजिल्यान्डले पहिलो इनिङमा १ सय ७२ रनको योगफल तयार गरेको थियो । यद्यपि, अस्ट्रेलियालाई पराजित गर्नका लागि भने त्यो योगफल पर्याप्त भएन ।

दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले १८. ५ ओभरमा मात्रै दुई विकेट गुमाएर १ सय ७३ रनको लक्ष्य पूरा गर्दै पहिलो पटक टी-२० विश्वकपको उपाधि जितेको हो ।

अस्ट्रेलियाका लागि वान् डाउनमा क्रिजमा उत्रिएका मिचेल मार्सले ५१ बलमा ६ चौका र ४ छक्कासहित ७७ रनको अविजित अर्धशतकीय इनिङ खेले । यस्तै, ओपनर डेभिड वार्नर ३८ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाएर पेभिलियन फर्किँदा ग्लेन म्याक्सवेल १८ बलमा ४ चौका र १ छक्कासहित २८ रनमा अविजित रहे ।

न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले २ बाहेक अन्य खेलाडीले विकेट लिन सकेनन् ।

पहिलो इनिङमा ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डका लागि कप्तान विलियमसनले ४८ बलमा १० चौका र ३ छक्कासहित ८५ तथा मार्टिन गप्टिलले २८, ग्लेन फिलिप्सले १८ तथा जिमी निशमले अविजित १३ रन बनाए ।

अस्ट्रेलियाका लागि जोश हेजलउडले ३ तथा एडम जाम्पाले १ विकेट लिएका थिए । अस्ट्रेलियाले टी-२० विश्वकपमा पहिलो पटक न्युजिल्यान्डलाई पराजित गरेको हो ।

आईसीसी विश्वकपमा भने अस्ट्रेलियाले दोस्रो पटक फाइनलमा न्युजिल्यान्डलाई निराश बनाएको हो । यसअघि २०१५ को एकदिवसीय विश्वकपको फाइनलमा पनि अस्ट्रेलियाले न्युजिल्यान्डलाई पराजित गर्दै पाँचौं पटक उपाधि उचालेको थियो ।