MENU

नेपालमा टेनिस खेल्न आएका अष्ट्रेलियन युवा खेलाडीको मृत्यु

काठमाडौं । नेपालमा टेनिस खेल्न आएका अष्ट्रेलियन युवा टेनिस खेलाडी केन्ट यामाजाकीको मृत्यु भएको छ।

 

सातदोबाटोस्थित टेनिस कोर्टमा बुधवार खेल्ने क्रममा कोर्टमै ढलेका उनी अचेत बनेका थिए । उनको टाउको भुँइमा ठोक्किएको थियो । त्यसपछि उनी फेरि होसमा आएनन् । उनको मृत्युको खास कारण अहिलेसम्म पत्ता लागेको छैन ।

 

नेपाल टेनिस संघमा महासचिव मनोहर मुलले यामाजाकीको मृत्यु भएको पुष्टि गरे । बुधबार अभ्यासका क्रममा मैदानमै बेहोस भएर ढलेपछि उनलाई हस्पिटल लगेको र त्यहाँ पुर्‍याउँदा उनको मृत्यु भएको बताए ।

 

‘नेपालकी प्रेरणा कोइरालासंगै उनले बुधबार टेनिस कोर्टमा ट्रेनिङ गरिरहेका थिए । त्यही बेला उनी बेहोस भएर कोर्टमै ढले । नेपाली खेलाडीको प्यारेन्ट्सले उनलाई कारमा नजिकैको बीएण्डबी हस्पिटल लैजान भनेका थिए । तर यामाजाकीका बुबाले एम्बुलेन्समा लैजानुपर्छ भनेर कुरेछन् । त्यसले गर्दा १५ मिनेट जति ढिला भयो’ मुलले भने ‘पछि फेरि कारमै उनलाई हस्पिटल लगियो । तर उनको होस आएन र मृत्यु घोषणा भयो ।’

 

संघले यस बारेमा सबैलाई जानकारी गराएको र अष्ट्रेलियन राजदूतावासलाई पनि जानकारी गराएको मुलले बताए । ‘हामीले अष्ट्रेलियन राजदुताबासलाई खबर गरिसकेको छौँ । अब सम्पूर्ण जिम्मा उनीहरुले नै लिने भएका छन र मृत शरीर अष्ट्रेलिया लगिनेछ ।

 

इन्टरनेशनल टेनिस फेडेरेसन आईटीएफ जुनियर टेनिसका लागि नेपाल आएका थिए । उनी त्यसैको तयारीमा थिए । फेब्रुअरी ३ अर्थात आउने सोमबारदेखि नेपालमा आइटिएफ जेफ क्याटेगोरीको टुर्नामेन्ट हुँदैछ ।

 

टेनिस वेष्टले स्टेटमेन्ट जारी गर्दै यामाजाकीको मृत्युको पुष्टी गरेको छ । ‘डब्लुए टेनिस कम्युनिटी १५ वर्षीय केन्ट यामाजाकीको दुखदायी मृत्युको खबरले शोकमा छ ।’ स्टेटमेन्टमा भनिएको छ । टेनिस वेस्टेले यामाजाकीमा प्रभाव पार्न सक्ने हँसो र गेमको लागि माया रहेको समेत जनाएको छ ।

 

विश्व नम्बर २३५४ वरियतामा रहेका टिनएजर यामाजाकीले अहिलेसम्म आइटिएफ जुनियर उपाधि जित्न सकेका छैनन् । तर टेनिस वेष्टका अनुसार उनले स्टेट लेभलको टर्नामेन्टहरुमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यस्तै गत डिसेम्बरमा अलबरीमा भएको नेशनल च्याम्पिनयसिपमा उनल आफ्नो हाई स्कुललाई जिताउन सहयोग गरेका थिए ।

 

यामाजाकीले प्राय ट्रेनिङ गर्ने एलेक्जान्डर पार्क टेनिस क्लबले पनि उनलाई श्रद्धान्जली अर्पण गर्दै च्याम्पियनलाई गुमाएको जनाएको छ । ‘हामीले च्याम्पियन गुमाएका छौँ’ क्लबले भनेको छ ।