MENU

नेपालको सहरी क्षेत्रको समुदायमा कोरोना भाइरसको संक्रमण तीव्र

काठमाडौं। पछिल्ला दिनमा सहरी क्षेत्रमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ। खासगरी संघीय राजधानी काठमाडौं र मुलुकका अरु प्रमुख सहरहरुमा संक्रमणको दर ह्वात्तै बढेको पाइएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) गरेको ‘सेरो प्रिभिलेन्स सर्भे’ ले सहरी क्षेत्रको समुदायमा संक्रमण फैलिएको देखाएको हो।

आइतबार साँझसम्मको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा संक्रमितको संख्या ७६ हजार ३ सय ४८ पुगेको छ। यसैगरी उपत्यकाका ललितपुर, भक्तपुर अनि विराटनगर, वीरगन्जलगायत सहरहरुमा पनि संक्रमणको प्रभाव निकै देखिएको छ।

महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले सहरी क्षेत्रमा सबै उमेर समूहमा संक्रमण देखिएको बताए। सबै उमेर समूहमा संक्रमण देखिनु समुदायमा संक्रमण भएको सूचक मानिने उनको भनाइ छ।

समुदायमा संक्रमण फैलँदा नियन्त्रण गर्न कठिन हुने विज्ञहरुले बताउँदै आएका छन्। नेपालमा संक्रमितको संख्या १ लाख ७३ हजारभन्दा बढी पुगिसकेको छ। ज्यान गुमाउनेको संख्या हजार पुग्न लागेको छ।

मुलुकभर सक्रिय संक्रमितको संख्या ३८ हजार ५ सयभन्दा बढी छ। काठमाडौं उपत्यकामा २० हजार ३ सय ४४ जना सक्रिय संक्रमित छन्। काठमाडौं जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या १६ हजार ८ सयभन्दा बढी पुगेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार कोरोना संक्रमणका तीनवटा चरण हुन्छन्। बाहिरबाट यात्रा गरी आएका छिटफुट संक्रमित भेटिएको अवस्थालाई पहिलो चरण भनिन्छ।

दोस्रो चरणमा एकै ठाउँमा धेरै संक्रमित भेटिन्छन्। समूह–समूहमा संक्रमित भेटिएको अवस्थालाई क्लस्टर अफ केसेसका रूपमा डब्लुएचओले लिएको छ।

स्वतन्त्र विज्ञले समुदायमा कोरोना संक्रमण भएको बताए पनि सरकारले भने औपचारिक रूपमा संक्रमण दोस्रो चरणमा रहेको दाबी गर्दै आएको छ।

दोस्रो चरणमा संक्रमणको फैलावट हुँदैन। समुदायमा संक्रमण फैलिएको अवस्था तेस्रो चरण हो। समुदायमा संक्रमण फैलँदा नियन्त्रण गर्न कठिन हुने विज्ञहरुले बताउँदै आएका छन्।

डा. पाण्डेका अनुसार बागमती प्रदेशमा महिलाको संक्रमणदर झण्डै ४० प्रतिशत छ।