MENU

प्रदेशमा पनि सत्ताविहीन बन्यो एमाले

काठमाडौं– गत असार अन्तिम साता केन्द्र सरकाबाट बहिर्गमित भएको नेकपा (एमाले) प्रदेशमा पनि सत्ताविहीन भएको छ। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै एमाले प्रदेशमा पनि प्रतिपक्षी बनेको हो।

गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री आचार्यले प्रदेश सभामा विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका हुन्।

प्रदेशसभाको सोमबारको बैठकमा आफ्नो ६७ दिने कार्यकालको प्रगति सुनाउँदै उनले राजीनामा घोषणा गरे। मुख्यमन्त्रीको राजीनामा घोषणासँगै संसद् बैठक कात्तिक २३ गतेसम्मका लागि स्थगित भएको छ।

उता, बागमती प्रदेशमा पनि एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले विश्वासको मत पाइनन्। गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री थिइन्। उनले पनि विश्वासको मत नपाउने अवस्था देखेपछि १० कात्तिकमा राजीनामा दिइन्। उनीअघि एमालेकै डोरमणि पौडेल उक्त प्रदेशका मुख्यमन्त्री थिए।

शाक्य र आचार्यले अल्पमतमा परेर राजीनामा दिएसँगै ४ प्रदेश र केन्द्रमा सत्ताको बागडोर सम्हालेको एमाले सत्ताविहीन बनेको हो।

गठबन्धनबीच कांग्रेसले दुई, माओवादी केन्द्रले दुई, नेकपा एकीकृत समाजवादीले दुई र जनता समाजवादीले एउटा प्रदेश सरकारको नेतृत्व लिने सहमति छ। सोही सहमतिअनुसार एकीकृत समाजवादीले बागमती र प्रदेश १ सरकारको नेतृत्व हात पार्न लागेको छ।बागमतीमा नेकपा (समाजवादी)का राजेन्द्र पाण्डे मुख्यमन्त्री बनिसकेका छन्।

माओवादी केन्द्रले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ। कांग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व पाएको छ। माओवादीले कांग्रेसका लागि कर्णाली नेतृत्व छाड्ने तयारी गरेको छ। त्यहाँ काग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने सम्भावना छ। जनता समाजवादी पार्टीले सुरुदेखि नै प्रदेश २ सरकारको नेतृत्व गरिरहेको छ।

कुनै समय केन्द्रदेखि ४ वटा प्रदेश सरकारको बागडोर सम्हालेको एमाले भने अब केन्द्रदेखि सबै प्रदेशमा सत्ताबाहिर पुगेको छ। एमालेले यसअघि गण्डकी र लुम्बिनीमा आफ्नो नेतृत्वको सरकार गुमाइसकेको छ।