MENU

अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा नेपालले खेल्न नपाउने

नेपाल यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने आईसिसी टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ ।

ओमानमा जारी आईसीसी टी–२० विश्वकपको छनोटअन्तर्गत सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित हुँदै नेपाल बाहिरिएको हो । एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ७ रन जोड्यो ।

नेपालका दीपेन्द्रसिंह ऐरी ३८, ज्ञानेन्द्र मल्ल २० र आरिफ शेखले ११ रन बनाएर आउट भए। माथिल्लोक्रममा आसिफ शेख र लोकेश बमले खाता खोल्न सकेनन् । कुशल भुर्तेल ७ रन जोडेर आउट भए ।

यूएईको घातक बलिङसामु नेपाली ब्याट्सम्यानहरु कमजोर देखिए । अहमद रजाले ५ र जुनाइद सिद्धिकीले ३ विकेट लिए । रोहत मुस्ताफा र जहुर खानले पनि एक–एक विकेट हात पारे । सिद्धिकीले चार ओभरमा २६ रन खर्चिए । रजाले ४ ओभरमा १९ रन दिए ।

सिद्धिकीले पारीको पहिलो ओभरमै लगातार बलमा दुई विकेट लिएका थिए । लगातार दुई वाइड बलपछि उनले आसिफ र लोकेशलाई आउट गरेका थिए। सिद्धिकीले तेस्रो ओभरमा अर्का नेपाली ओपनर कुशललाई आउट गरेका थिए ।

दीपेन्द्र र ज्ञानेन्द्रले नेपाललाई सम्हाल्ने प्रयाश गरेपनि रजाले लगातार बलमा उनिहरु दुवैलाई आउट गरेका थिए । १३ औँ ओभरमा आउट हुनुअघि दीपेन्द्र र ज्ञानेन्द्रले पाचौँ विकेटका लागि ३३ रनको साझेदारी गरेका थिए । रजाले १५ औं ओभरमा पनि २ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७५ रन जोडेको थियो ।

यूएईका मुहम्मद वासिमले ७० र भित्र्या अरविन्दले ४६ रन बनाए। सुरुका २ ओभरमा एक विकेट गुमाएर ६ रन जोडेको यूएईका लागि वासिम र अरविन्दले शानदार ब्याटिङ गरेका हुन् ।

वासिमले ४८ बलमा चार छक्का र चार चौका प्रहार गरे। उनले ३२ बलमा अर्धसतक पुरा गरेका थिए । यस्तै १९ वर्षीय अरविन्दले २३ बलमा ३ छ्क्का र ५ चौका प्रहार गरे । यूएईले दोस्रो विकेटका लागि ६६ र तेस्रो विकेटका लागि ७४ रनको साझेदारी गरेको थियो ।

यूएईले तेस्रो ओभरमा १८ तथा त्यसपछिका लगातार चार ओभरमा समान १३ रन जोडेको थियो । आठौँ ओभरको तेस्रो बलमा सन्दीपले अरविन्दलाई बोल्ड आउट गरेका थिए । १७ औँ ओभरमा अविनाशले वासिमलाई आउट गरे। उक्त ओभरमा उनले दुई विकेट लिएका थिए ।जितेन्द्र मुखियाले दोस्रो ओभरमा विकेट लिएर गतिलो सुरुवात दिलाएपनि यूएईका ब्याट्सम्यान नेपाली बलरमाथी हावी बनेका थिए।

सुरुको ११ ओभरमा २ विकेट गुमाएर एक सय २ रन जोडेको यूएईलाई त्यसपछि सन्दीप, दीपेन्द्र र अविनाशले नियन्त्रणमा लिने प्रयाश गरेका थिए ।

अविनाश बोहरा र जितेन्द्र मुखियाले ३र३ विकेट हात पारे। नेपाललाई हराएसँगै यूएई विश्वकपका लागि छनोट भएको छ ।

नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकप खेलेको थियो । त्यसयता छनोट हुन सकेको छैन।