MENU

स्थानीय तहको चुनाव जेठमा गर्ने निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे पाँच दलीय गठबन्धनकाे बैठक

पाँच दलीय गठबन्धनले निर्वाचन कानून संशोधन गरेर जेठ महिनभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।

स्थानीय तह निर्वाचन ऐन अनुसार ५ जेठ भित्र स्थानीय तहको निर्वाचन गरेर परिणाम घोषणा गरिसक्नुपर्छ । तर, गठबन्धनले जेठ महिनाभित्र निर्वाचन गर्ने भनेपछि उक्त कानून संशोधन गर्नुपर्ने भएको छ ।

सरकारका प्रवक्ता एवं गठबन्धन बैठकमा सहभागी भएका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए ।

त्यसैगरी, निर्वाचन कानून संशोधन गर्नुपर्ने भए त्यसको तयारी गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई निर्देशन दिएको पनि उनले जानकारी दिए ।

चौतर्फी दबाबपछि गठबन्धन जेठमा स्थानीय तहको निर्वाचन गर्न तयार भएको हो । गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरु निर्वाचन सार्ने पक्षमा थिए ।तर, गठबन्धन भित्र रहेको दल विशेषगरी नेपाली कांग्रेस र सार्वजनिक रूपमा सिर्जना भएको दबाबको कारण उनीहरु जेठमा निर्वाचन गर्न तयार भएका हुन् ।

राष्ट्रिपति विद्यादेवी भण्डारीले समेत कानून अनुसार स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएकी थिइन ।

भण्डारीले प्रधानमन्त्री देउवालाई पत्र नै दिएर निर्वाचन सम्बन्धी कानून स्मरण गराएकी हुन् ।
गठबन्धनको आजको बैठकमा निर्वाचनमा गठबन्धन कायम गरेर जाने विषयमा पनि छलफल भएको बैठकमा सहभागी एक नेताले बताए ।