सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति (बोर्ड) ४४ अर्ब अमेरिकी डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलन मस्कको प्रस्तावमा सहमत भएको छ। मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ट्विटरको बोली लगाएका छन्।
सन् २००६ को मार्चमा यसको स्थापनापछि ट्विटरले २१ करोड ७० लाख दैनिक सक्रिय प्रयोगकर्ता जम्मा गरेको छ। तीमध्ये ८० प्रतिशतभन्दा बढी संयुक्त राज्य अमेरिकाबाहिरका रहेका छन्। ट्विटरले २०१७ को अन्त्यसम्म नाफा लिन सकेन। यद्यपि, ट्विटरले गत वर्ष २२ करोड १० लाख अमेरिकी डलरबराबरको रकम घाटा भएको बताएको थियो।
हालको अवस्थामा ट्विटरमा ‘व्यापक सम्भावना’ रहेको र ती सम्भावनाका ढोकाहरूलाई आफूले खोल्ने मस्कले बताएका छन्। उनले नक्कली खाताहरूलाई हटाउने तथा कैयौँ प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनका लागि पनि आह्वान गरेका छन्। कम्पनीले सुरुमा मस्कले लगाएको बोलीलाई अस्वीकार गरेको थियो।
फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन्। उनको अनुमानित सम्पत्ति दुई सय ७३.६ अर्ब डलर रहेको छ। उनी विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य सेयरधनीसमेत हुन्। रासस/एएफपी