MENU

नेपालका पूर्व अख्तियार प्रमुख दिप बस्न्यात जेल चलान

काठमाडौं । नेपालको  विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातलाई जेल चलान  गर्न आदेश दिएको छ  ।

काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गामा नक्कली मोही र नक्कली जग्गाधनी खडा गरी सरकारी जग्गा व्यक्तिका नाममा पारेर हिनामिना गरेको भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि जेल चलान गरिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

अभियुक्त बस्न्यातले आवास मन्त्रालयको सचिव रहँदा बालुवाटारको अर्बौं रुपैयाँ मूल्यको सरकारी जग्गा व्यक्तिको बनाउन प्रमुख भूमिका बहन गरेको अभियोग छ ।

अभियुक्त बस्न्यातसँग अदालतले बयान लिएको थियो । अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्यद्वय अब्दुल अजिज मुसलमान तथा नित्यानन्द पाण्डेको इजलासले बस्न्यातलाई थुनामा राखेर मुद्दाको सुनुवाइ गर्ने आदेश दिएको हो । अभियुक्त बस्न्यातलाई डिल्लीबजार कारागारमा राखिएको छ ।