MENU

कमल थापाले छाडे राप्रपा, नयाँ पार्टी खाेल्दै

कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका छन् । थापाले आज विज्ञप्ति प्रकाशन गरेर पार्टीबाट अलग हुने निर्णय गरेको बताएका छन् ।

‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु’, थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राप्रपाकाे भर्खरे सम्पन्न भएकाे महाधिवेशनमा अध्यक्षमा पदमा राजेन्द्र लिङ्देनसँग पराजीत भएपछि थापा पार्टीबाट अलग हुने वातावरण खाेजिरहेका थिए ।

उनले पार्टीभित्र देखा परेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिका कारण पार्टी छाड्न बाध्य भएको बताएका छन् ।

‘पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टी भित्रै विताउने र पाटी मै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन वाध्य भएको हुँ’, थापाले भनेका छन् ।

राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरुबाट प्राप्त सहयोग, सद्भाव र स्नेह प्रति उनले आभार व्यक्त गरेका छन् ।

‘पार्टीमा रहँदा बिताएका क्षणहरु प्रति म सदैव गौरव गरिरहने छु । राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु’, थापाले भनेका छन् ।

कमल थापा निकटका व्यक्तिहरूले भने उनले नयाँ पार्टी खाेल्ने गृहकार्य गरिरहेकाे बताएका छन् । नयाँ पार्टी खाेल्ने तयारी अन्तिम चरणमा रहेकाे उनीहरूकाे दावी छ । तर, कमल थापाले भने त्यसबारे केही बताएका छैनन् ।