MENU

नयाँ पाठ्यक्रममा आधारित ‘आमसञ्चार’  पुस्तक सार्वजनिक

काठमाडौँ । शैक्षिक वर्ष २०७७ देखि नेपालका सबै विद्यालयहरूमा कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु भएसँगै आमसञ्चार सञ्चार सम्बद्ध विभिन्न विज्ञहरूले भने बजारमा नयाँ पाठ्यक्रममा आधारित पत्रकारिताका पाठ्यपुस्तकहरू बाहिर ल्याउन थालेका छन् ।

यसैबिच विगत १७ वर्षदेखि आमसञ्चार तथा पत्रकारिता सम्बन्धी एक दर्जन भन्दा बढी पाठ्यसामग्री प्रकाशन गरिसकेका सञ्चार विज्ञ भानुभक्त आचार्यले नयाँ पाठ्यक्रममा आधारित कक्षा ११ मा पढाई हुने ‘आमसञ्चार’ नामक  नयाँ पाठ्यपुस्तक बजारमा ल्याएका छन् ।

लेखकले पाँचवटा च्याप्टरमा आधुनिक पत्रकारिताका सबै विद्यालाई समेट्ने प्रयास गरेका छन् । नेपाली र अङ्ग्रेजी भाषामा लेखिएकाले ११ का विद्यार्थीलाई बुझ्ने गरी सरलीकरण गरिएको छ । आमसञ्चारको अवधारणा,   प्रक्रिया , आमसञ्चारका माध्यम, पत्रकारिता, समाजमा यसको भूमिका, र प्रभावका बारेमा माध्यमिक तहका बालकालकालाई ज्ञान र सिप तथा अवधारणा विकास गर्नुका साथै  पाठ्यक्रमले सम्बन्धित विषयमा उच्च शिक्षाको आधारसमेत तयार पार्ने लेखक आचार्यले बताए ।

राष्ट्रिय पाठ्क्रम  प्रारूप, २०७६ को मार्गदर्शन बमोजिम विद्यालय शिक्षाको माध्यमिक तह (कक्षा ११ र १२) मा समावेश गरिएको आमसञ्चार र पत्रकारिताले समसामयिक मानवीय अभिरुचि र सार्वजनिक महत्त्वका विषयहरूमा सूचनाहरूको सङ्कलन, समाचार लेखन, सम्पादन एवम् प्रस्तुतीकरणसँग सम्बन्धित प्रक्रियाहरूकाे अध्ययन गर्दछ ।

लेखक आचार्यका अनुसार पाठ्यक्रममा  आमसञ्चार र पत्रकारिता विषय सम्बद्ध समाचार, संवाददाता र रिपोर्टिङ, न्यु मिडिया, अनलाइन, पत्रकारिता र सामाजिक सञ्जाल, सम्पादन र सम्पादकीय, विचार–आलेख, प्रसारण पत्रकारिता, फोटो पत्रकारिता, आमसञ्चारसम्बन्धी कानुनी र आचार संहिताका विषय समेटिएका छन् ।

पुस्तकमा अध्यापनलाई सजिलो बनाउन अझै बढी तस्बिर, तालिका, ग्राफ, नेपालीपन थपिएको छ ।  नयाँ पुस्तकमा विगतको भन्दा बढी रचनात्मक र क्रमबद्ध छ । तर, पाठ्यक्रममा हुनै पर्ने कतिपय प्रसङ्ग छुटेका छन्, जस्तै सञ्चारका तत्त्वहरू, आमसञ्चार र  पत्रकारिताका चुनौतीहरू, समाचार अन्तर्वार्ता, शैली पुस्तिका, समाचार कक्ष इत्यादि । यो पुस्तकमा ती प्रसङ्गहरूलाई पनि समेट्ने प्रयास गरिएको छ ।

कोरोना भाइरस महामारीका कारण ठप्प भएका विद्यालयहरू दसैँ, तिहार र छठ्को बिदापछि खुले लगत्तै कक्षा ११ का विद्यार्थीहरूले नयाँ पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्न पाउने छन् । यद्यपि कक्षा १२ मा भने नयाँ पाठ्यक्रम अनुसारको पढाई अर्को वर्षबाट मात्र सुरु हुनेछ ।

छिट्टै विद्यार्थीहरूको हात हातमा वा कम्प्युटर र स्मार्ट फोनसम्म पुस्तक पुर्‍याउने निमा पुस्तक प्रकाशनले जनाएको छ । तिहारपछि पुस्तक हात पर्न कुनै कठिनाइ भए ०१४२४२८११ अथवा ०१२५३८११ मा सम्पर्क गर्न  भनिएको छ ।