MENU

अमेरिकी सरकारको एक उच्च पदमा नेपाली मूलका प्राध्यापक नियुक्त

वासिंगटन डिसी । अमेरिकी सरकार अन्तर्गतको एक उच्च पदमा नेपाली मुलका एक विद्धानको नियुक्ति भएको छ। अमेरिकी सरकारको अन्तर्राष्ट्रिय विकाससम्बन्धी एजेन्सी युएसएआईडीको सल्लाहकारमा नेपाली मुलका डा.मोहनबहादुर डाँगी नियुक्त भएका छन्।

उनले यही सातादेखि अमेरिकाको राजधानी वासिंगटन डिसीस्थित युएस एडको मुख्यालय रोनाल्ड रेगन भवनमा सो पदको कार्यभार सम्हालेका छन्।

क्यालिफोर्नियाको क्यालिफोर्निया स्टेट युनिभर्सिटी,फ्रेस्नोमा जोग्राफी एण्ड सिटी एण्ड रिजनल प्लानिंगका प्राध्यापकसमेत रहेका डा.डाँगी प्रतिष्पर्धाका आधारमा सो पदमा पुगेका हुन्। अमेरिकी सरकारको उच्च पदमा पुग्ने उनी शायद् पहिलो नेपाली मुलका व्यक्ति हुन्।

उनी ‘दिगो वातावरणीय सल्लाहकार’ को पदमा नियुक्त भएका छन्। यो पद युएसएडको व्यूरो अफ ह्युमेनिटेरियन एफियर्सअन्तर्गत पर्दछ । उनी फुलब्राइट युएस स्कलर अवार्डले यो वर्ष पनि सम्मानित भएका व्यक्ति हुन्।

नेपालको मध्यपश्चिम क्षेत्र दाङ का स्थायी वासिन्दा रहेका डा.डाँगीले दाङको नारायणपुरस्थित श्री सिद्धरत्ननाथ नमूना माविबाट एसएलसी गरेका थिए भने काठमाडौंको अमृत साइन्स क्याम्पसबाट आर्ईएस्सी पास गरेका थिए।

२०५१ सालमा अमेरिका आएका उनले वायोमिंगको सेन्ट्रल वयोमिङ कलेजबाट भौतिक विज्ञानमा एसोसिएट डिग्री, प्रेसिडेन्सियल स्कलरसिपमा कोलोराडो स्कूल अफ माइन्सबाट केमिकल इन्जिनियरिंगमा स्नातक र एशिसन स्टडिज एण्ड इन्टरनेशनल पोलिटिक्समा स्नातक गरेका थिए।

डा.डाँगीले युएसएडको विश्वभरको मानवीय सहयोगको क्रममा ती सहयोग सामाग्रीहरुबाट उत्पन्न हुने फोहरमैला, त्यसको व्यबस्थापनको बारेमा अध्ययन, अनुसन्धान गरी युएसएड र अमेरिकी सरकारलाई उचित सल्लाह दिने काम गर्नेछन्।

उनले सोही विश्वविद्यालयबाट इन्भारोमेन्टल साइन्स एण्ड इन्जिनियरिंगमा एमएस गरेका छन्। उनले मेरिल्याण्डस्थित जोन्स हप्किन्स विश्वविद्यालयबाट जोग्राफी एण्ड इन्भारोमेन्टल सिष्टम इन्जिनियरिंगमा माष्टर्स र पिएचडीसमेत गरेका छन्।

विश्वको सबैभन्दा ठूलो युनिभर्सिटी सिष्टममध्येको एक क्यालिफोर्निया स्टेट युनिभर्सिटीअन्तर्गतको क्यालिफोर्निया स्टेट युनिभर्सिटी फ्रेस्नोमा प्राध्यापनरत डा.डाँगीलाई उनकै विश्वविद्यालयले मनोनयन गरेर अमेरिकी सरकारको युएसएडका लागि दिगो वातावरणीय सल्लाहकार पदमा प्रतिष्पर्धाका लागि अघि बढाएको थियो।

अमेरिकाभरका धेरै विश्वविद्यायलका सिनियर प्राध्यापक र विद्धानहरुबीचको प्रतिष्पर्धाबाट उनको छनौट भएको हो। पूरै क्यालिफोर्निया राज्यबाट यो वर्ष जम्मा दुईजना प्राध्यापकहरुले युएसएड र अमेरिकाको विदेश मन्त्रालयमा विशेषज्ञ सल्लाहकार पदमा नियुक्ति पाउन सफल भएका छन्।

डिसी नेपालसंगको कुराकानीका क्रममा डा.डाँगीले अमेरिकी सरकारले आफ्नो विज्ञताअनुसारको जिम्मेवारी दिएको र सो जिम्मेवारी आफूले सक्दो मेहनत गर्ने बताए।

नेशनल एकेडेमिक्स अफ साइन्सेस, इन्जिनियरिंग एण्ड मेडिसिन(एनएएसइएम) ले जेफर्सन साइन्स फेलोसिपको लागि आह्वान गरेअनुसार, विश्वविद्यालयबाट प्रतिष्पर्धाका आधारमा आफू छनौटमा परेको पनि उनले जानकारी दिए।

यो कार्यक्रम अमेरिकाका पूर्व सेक्रेटरी कोलिन पावेलले विदेश मन्त्रालयको नेतृत्व गरेका बेला ल्याइएको कार्यक्रम हो। यो कार्यक्रम अन्तर्गत अमेरिकाभरिका विश्वविद्यालयहरुबाट प्रतिष्पर्धाका माध्यमबाट विभिन्न क्षेत्रका विज्ञहरुको छनौट गरी सरकारको उच्च ओहदामा सल्लाहकारका रुपमा काम लगाउने गरिन्छ।

हाल नियुक्त भएका डा.डाँगीले युएसएडको विश्वभरको मानवीय सहयोगको क्रममा ती सहयोग सामाग्रीहरुबाट उत्पन्न हुने फोहरमैला, त्यसको व्यबस्थापनको बारेमा अध्ययन, अनुसन्धान गरी युएसएड र अमेरिकी सरकारलाई उचित सल्लाह दिने काम गर्नेछन्।

डा.डांगीले नेपालको पुल्चोक इन्जिनियरिंग क्याम्पसमा पुनर्नवीकरणीय उर्जा इन्जिनियरिंगमा एमएस कक्षा सञ्चालन गर्न उल्लेख्य भूमिका खेलेका थिए । यो कार्यक्रम अमेरिकी सहयोगअन्तर्गत शुरु भएको थियो। यो सहित नेपाल र अमेरिकाका विभिन्न विश्वविद्यालयहरुबीच ८ वटा एमओयुहरुमा हस्ताक्षर गराउन पनि उनले उल्लेख्य भूमिका खेलेका छन्।

पहिलाे पटक प्रकासित डिसि नेपाल