MENU

साउदीमा ध्वजाबाहक पुग्दा नेपालीमा झल्किएको खुसी

Nepal Airlines flying Kathmandu to Riyadh
Nepal Airlines flying Kathmandu to Riyadh-Saudi Arabia

रियाद – सूर्यचन्द्र अङ्कित राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) रियादस्थित किङ् खालिद इन्टरनेश्नल एयरपोर्टमा जहाजको भीडमा अवतरण हुँदा यहाँ रहेका नेपालीले खुसी व्यक्त गरे । साउदी अरेबियामा नेपाली ध्वजाबाहकको उपस्थिती काठमाडौँको हवाई सम्पर्क सञ्जाल विस्तार मात्रै नभएर नेपालको सान र गौरब पनि हो ।

नेपालले कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्षपछि ध्वजाबाहक वायुसेवा निगमले अरबको दोस्रो ठूलो मुलुक साउदीमा सिधा हवाई उडान सुरु गरेकामा नेपाली समुदायले खुसी व्यक्त गरेका छन् । साउदीमा रहेका चार लाख नेपालीका विभिन्न सङ्घ सङ्गठन र गैर आवासीय नेपालीका संस्थाले ध्वजाबाहकको उपस्थितिले मध्यपूर्वमा नेपालीको छवी थप उचाइमा पुगेको बताएका छन् ।

शनिबार राजधानी रियादमा आयोजित कार्यक्रममा नेपाली दूतावासका कार्यबाहक राजदूत दिलिपकुमार पौडेलले नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएको महत्वपूर्ण मुलुक साउदी अरबमा निगमको सिधा उडानले कूटनीतिक सम्बन्धलाई थप बलियो पार्ने मात्र नभइ आर्थिक उन्नतिको ढोका फराकिलो भएको विश्वास व्यक्त गरे ।

“निगमले धेरै लामो प्रयासपछि रियादमा सिधा उडान सुरु गरेको छ, यसले निगमको आर्थिक उन्नतिलाई पनि फराकिलो बनाउने र गन्तव्य विस्तार पनि हुनेछ, मुलुकको फ्लाइट क्यारियसको छुट्टै महत्व र पहिचान हुन्छ, यसले मुलुकको प्रवद्र्धन गर्नमा महत्वपूर्ण भूमिका खेल्नेछ”, उनले भने ।

गैर आवासीय नेपाली सङ्घ साउदी अरेबियाका संयोजक राजेन्द्र अर्यालले साउदीमा सिधा उडानले मुलुकको व्यापार प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

अप्रिल २२ तारिखमा वाइड बडी ए ३३० जहाजले रियादमा शुभारम्भ उडान भरेको निगमले सुरुवाती चरणमा न्यारोबडी जहाजमार्फत सातामा दुई दिन उडान भर्नेछ । निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो । रियादस्थित नागरिक उड्डयन कार्यालयको ‘जेनरल अथोरिटी अफ सिभिल एभिएसन’ ले त्यहाँका तीन शहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो । यो गन्तव्यको उडानमा निगमले सहुलियतपूर्ण भाडादर, यात्रुलाई सुविधा ‘इनफ्लाइट’ खाना तथा रियादबाट फर्कंदा यात्रुले ४० किलो लगेज सुविधा पाउनेछन् । काठमाडौँ–रियाद एकतर्फी उडान अवधि छ घण्टा १५ मिनेट र रियाद–काठमाडौँ उडान अवधि चार घण्टा ५० मिनेटको हुनेछ ।

निगमको रियादको उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुने भएको छ । निगमले यसअघि भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको थियो । निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, क्वलालम्पुर, हङकङ, बैङकक र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाईड बडी ‘ए’ ३३० र दुई थान न्यारोबडी न्यारो बडी ‘ए’३२० जहाज छन् । रासस