MENU

नेपालले हस्तलिखित भिसा विस्थापन गर्ने

Nepal on launched a digital visa system to replace its 45-year-old hand-written visa regime.
Nepal launched a digital visa system to replace its 45-year-old hand-written visa regime.

काठमाडौँ — सरकारले ४६ वर्षदेखि प्रयोगमा रहेको हस्तलिखित भिसा विस्थापन गर्ने भएको छ । अध्यागमन प्रशासनलाई प्रविधिमैत्री र अन्तर्राष्ट्रियस्तरको बनाउन गृह मन्त्रालयले कम्प्युटर प्रणाली सिर्जित क्यूआर कोडसहितको भिसा जारी हुने प्रविधिको थालनी गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले सोमबार अध्यागमन विभागमा आयोजित कार्यक्रममा ‘सिस्टम जेनेरेटेड प्रिन्टेड भिसा विथ क्यूआर कोड’ अनुसारको भिसा पोर्चुगलका नागरिक तेञ्जिङ नुर्बु लामालाई हस्तान्तरण गरी शुभारम्भ गरेका छन् । क्यूआर कोडसहितको नेपाली भिसा पाउने पहिलो विदेशी नागरिक पनि लामा नै भएका छन् ।

मन्त्री पौडेलले देशको इज्जत र प्रतिष्ठासँग जोडिएको अध्यागमन प्रशासनले क्यूआर कोडसहितको भिसा सेवा सुरु गरेको भन्दै यसले विद्युतीय भिसा प्रणालीमा जान आधार तयार गरेको बताए । यो भिसामा रहने होलोग्राममा नेपालको नक्सासहितको वाटरमार्क रहनेछ ।

त्यस्तै भिसा स्टिकरमा रहने क्यूआर कोडमा भिसाको विवरण हुँदा सजिलै आधिकारिकता र अन्य विवरण सजिलै लिन सकिने छ । क्यूआर कोडमा समावेश विवरण परिवर्तन गर्न मिल्दैन ।

विभागका अनुसार राहदानीको एउटा पेजमा तीनवटासम्म भिसा अट्ने छ । यसअघि सन् २०२० जनवरी २७ मा अध्यागमन विभागले अध्यागमन प्रशासनसम्बन्धी सबै विवरण रहने गरी ‘नेपाली पोर्ट’ प्रयोगमा ल्याएको थियो । विभागमा सोमबारबाटै सबै किसिमका भिसा र ट्रेकिङ परमिट दिनेसम्बन्धी काम क्यूआर कोडबाटै सुरु गरेको छ । यो सेवा पनि नेपाली पोर्टकै सिस्टमबाट प्रवेश गराएर प्रयोगमा ल्याएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य १३ ठाउँमा अध्यागमन कार्यालय र विदेशस्थित ३९ वटै कूटनीतिक नियोगबाट भने असोजभित्र यो सेवा सुरु हुने विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए । क्यूआर कोडसहितको भिसा अनुकूलका प्रिटर खरिद भएपछि यो सेवा नेपालका सबै अध्यागमन कार्यालयबाट सुरु हुनेछ ।

हस्तलिखित भिसामा हुने केरमेट एवं तोकिएभन्दा फरक हुने गरी तिथि/मिति घटबढलगायत गैरकानुनी गतिविधिलाई समेत यो सिस्टमले बर्जित गर्न मद्दत पुग्छ ।

पहिलाे पटक इ कान्तिपुरमा प्रकासित