MENU

न्यू साउथ वेल्सबाट ४९१ भिषा पाउन सम्भव छ ?

सबक्लास १८९ र १९० पाउन धेरै गार्‍हो हुन थालेपछि पछिल्लो समयमा धेरैको लक्ष्य ४९१ भिषा हुन थालेको छ।

लामो प्रतीक्षापछि न्यू साउथ वेल्स सरकारले यो हप्ता ४९१ भिषाको बारेमा ‘अपडेट’ सार्वजनिक गरेको छ। तर न्यू साउथ वेल्स सरकारको पछिल्लो ‘अपडेट’ धेरै उत्साहप्रद भने छैन।

न्यू साउथ वेल्समा १४ वटा रिजनल डेभलपमेन्ट अस्ट्रेलिया (RDA) हरू छन्। न्यू साउथ वेल्स सरकारले अब आ-आफ्नो क्षेत्रमा कुन-कुन पेशाकर्मीलाई मनोनयन गर्ने भन्ने अधिकार ती RDA हरूलाई नै दिने बताएको छ। यसको मतलब जुन क्षेत्रमा जुन पेशाकर्मीको आवश्यकता पर्दछ, त्यहाँको RDA ले त्यही पेशा गर्ने आवेदकहरूलाई ४९१ भिषाको लागि मनोनयन गर्न सक्नेछ।

निकट भविष्यमै न्यू साउथ वेल्स सरकारले यस आर्थिक वर्षको लागि थप केही कोटा केन्द्रीय सरकारबाट पाउनेछ र RDA हरूले धमाधम मनोनयन गर्न थाल्नेछन्।

पेशा छनौट गर्ने अधिकार RDA लाई दिए पनि आवेदकहरूमा हुनुपर्ने न्यूनतम मापदण्ड भने न्यू साउथ वेल्स सरकारले नै तोकिदिएको छ। जसअनुसार, तीनवटा ‘स्ट्रिम’ मध्ये कुनै एकमा आवेदक योग्य हुनुपर्छ।

पहिलो स्ट्रिम

पहिलो स्ट्रिमअनुसार, तोकिएको रिजनल एरियामा कम्तीमा १२ महिनादेखि बसेर आफ्नो पेशामा काम गरिरहेको (जस्तै: नर्सिङमा स्किल असेसमेन्ट भएको आवेदकले नर्सिङमै काम गरेको) हुनुपर्ने भन्ने छ। । र, तपाईं त्यसरी नर्स भएर काम गरिरहेको हुनुहुन्छ भने तपाईंले आवेदन दिने RDA ले प्रकाशित गरेको लिस्टमा त्यो पेशा पनि संलग्न भएको हुनुपर्ने छ ।

केही हप्तादेखि मात्रै रिजनल एरियामा बसेर जुनसुकै पेशा गरेकाहरूलाई समेत उल्लेख्य संख्यामा न्यू साउथ वेल्स सरकारले गएको जुन महिनामा ४९१ भिषामा मनोनयन गरेको हुनाले यो स्ट्रिमबाट धेरै आवेदन पर्ने सम्भावना देखिँदैन।

दोस्रो स्ट्रिम

दोस्रो स्ट्रिम रिजनल एरियामा बसेर पढाइ सिध्याएकाहरूका लागि हो। रिजनल एरियामै बसेर गएको दुई वर्षभित्रमा पढाइ सिध्याएर स्किल असेसमेन्ट भएकाहरू यो स्ट्रिमअन्तर्गत योग्य हुनसक्छन्। नेपाली विद्यार्थीहरू रिजनल एरियामा पढ्नेहरू थोरै छन्।

तीमध्ये पनि कैयौले पढाइ रिजनल एरियाको शैक्षिक संस्थाबाट गरे पनि पूरै पढाइ अवधिभर त्यहाँ नबसी सिड्नीजस्ता ठूला सहरबाटै धाउने गरेका हुन्छन्। त्यस्तो अवस्थामा उनीहरू यो स्ट्रिमअन्तर्गत योग्य हुँदैनन्।

तेस्रो स्ट्रिम

न्यू साउथ वेल्स बाहिर बस्ने र काम गर्नेहरूका लागि तेस्रो स्ट्रिम छ। यसअन्तर्गत रिजनल एरियामा आफ्नो स्किल असेसमेन्ट भएको पेशामा जागीर पाउनेहरूले आवेदन दिन सक्छन्। यो विकल्प तुलनात्मक रूपमा सजिलो देखिन्छ। र, यसको दुरुपयोग हुनसक्ने सम्भावना पनि देखिन्छ।

त्यस्तै, स्किल असेसमेन्ट भएको पेशामा पाँच वर्षको अनुभव भएकाहरूले विदेशबाटै पनि आवेदन दिन सक्नेछन्। कतिपय पेशामा विदेशबाटै ठूलो संख्यामा आवेदन आउन सक्ने सम्भावना देखिन्छ। यसले गर्दा अष्ट्रेलियामा नै रहेर आवेदन दिनेहरूलाई असर पर्न सक्ने देखिन्छ।

न्यू साउथ वेल्सको रिजनल एरियामा आफन्त हुनेहरूका लागि पनि तुलनात्मक रूपमा सजिलो हुने बनाइएको छ। आफ्ना नजिकका नातेदार रिजनल एरियामा दुई वर्षभन्दा बढी समयदेखि बसिरहेका छन् भने अरू मापदण्ड पूरा गरेको खण्डमा यो स्ट्रिमबाट पनि भिषा पाउन सजिलो देखिन्छ।

अब के गर्ने?

पीआर पाउन पछिल्लो समयमा झन् झन् कठिन हुँदै गएको देखिन्छ। यद्यपि, ४९१ भिषा पाउन भने अहिले पनि तुलनात्मक रूपमा अलिक सजिलो छ। ४९१ भिषा चाहनेहरूले अब निम्न कुराहरुमा ध्यान दिनु उपयुक्त हुन्छ:

  •  सिड्नी, मेल्बर्न, ब्रिज्बेनजस्ता ठूला सहरहरूको सट्टा रिजनल एरियामा बस्न र काम खोज्न प्रयत्न गर्ने ।
  • आफ्नो स्किल असेसमेन्ट भएको वा त्योसँग निकट हुने पेशामा काम खोज्ने।
  • हरेक रिजनल एरियाको छुट्टाछुट्टै अकुपेशन लिस्ट हुने हुनाले आफ्नो पेशाको कुन क्षेत्रमा अत्यधिक माग छ, त्यसको जानकारी लिने।
  • न्यू साउथ वेल्स सरकार र RDA हरूको वेबसाइट बारम्बार हेर्ने। आवश्यक परेमा माइग्रेशनसम्बन्धी परामर्श दिने कानुन व्यवसायी वा रजिस्टर्ड माइग्रेशन एजेन्टबाट सरसल्लाह लिने।

माथि दिइएका जानकारी पूर्ण, अद्यावधिक र सबैका लागि उपयुक्त नहुनसक्छन्। कुनै निष्कर्षमा पुग्नु वा कुनै पनि महत्त्वपूर्ण निर्णय गर्नुभन्दा पहिले अध्यागमन विभागको वेबसाइट, माइग्रेशनसम्बन्धी परामर्श दिने कानुन व्यवसायी वा रजिस्टर्ड माइग्रेशन एजेन्टबाट आवश्यक जानकारी लिनु उचित हुन्छ। लेखक सोलिसिटर र रजिष्टर्ड माइग्रेशन एजेन्ट (MARN 1172267) हुन्। -सम्पादक