MENU

रंगभेदी प्रतिक्रियाका कारण दरबार त्यागेको बेलायती राजकुमार ह्यारी र मेघनको अभिव्यक्ति

Prince Harry and Meghan Markle

लन्डन — राजपरिवारको वरिष्ठ सदस्यका रूपमा जिम्मेवारीबाट अलग्गिने घोषणा गरेर अमेरिका बस्दै आएको वर्ष दिनपछि बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेघन मार्कल फेरि चर्चामा आएका छन्।

अमेरिकी टेलिभिजन सीबीएसले आइतबार प्रसारण गरेको ओप्रा विन्फ्रीसँग ह्यारी–मेघनको विशेष अन्तर्वार्ताले विश्व फेरि तरंगित भएको हो। अन्तर्वार्तामा उनीहरूले शाही परिवारसँगको सम्बन्ध तथा रंगभेदी प्रतिक्रियाका कारण आफ्नो मानसिक स्वास्थ्यमा परेको प्रभावजस्ता विषयमा मुख खोलेका छन्।

अन्तर्वार्तामा डचेस अफ ससेक्स मेघनले लगाएको सबैभन्दा ठूलो आक्षेपमा आफूहरूको जन्मिने बच्चा कति अश्वेत होला भन्ने बातचित शाही परिवारभित्र धेरै पटक भएको भन्ने छ। तर, अन्तर्वार्ताका क्रममा भने दुवैले राजपरिवारका कुन सदस्यले त्यस्तो अभिव्यक्ति दिएका थिए भन्ने खुलाएनन्। ३९ वर्षीय मेघनकी आमा अश्वेत हुन्। उनले ब्रिटिस राजपरिवारभित्रको जीवन आफ्ना लागि धेरै कठिन भएको र कहिलेकाहीं बाँच्ने इच्छा नै मरेको बताएकी बीबीसीले उल्लेख गरेको छ। अन्तर्वार्ताका क्रममा उनले मानसिक समस्या भोग्दा सहयोगका लागि कहाँ सम्पर्क गर्ने भन्नेबारे अन्योलमा परेको समेत बताइन् ।

व्यक्तिगत कुरा धेरै गरिएको अन्तर्वार्तामा मेघनले सन् २०१८ मेमा ह्यारीसँग विवाह भएपछि अवस्था बिग्रन सुरु भएको र सहयोग माग्दा पनि आफूले नपाएको बताएकी छन् । मेघनले डुक अफ एडिनबरा राजकुमार फिलिप (महारानीका श्रीमान्) अस्पताल भर्ना हुँदा गत महिना महारानीलाई फोन गरेको पनि बताएकी छन्।

मेघनले अन्तर्वार्ताका क्रममा आफ्नो गर्भमा रहेको बच्चा छोरी भएको पनि सार्वजनिक गरेकी छन्। उनीहरूको दोस्रो सन्तान छोरी यही गर्मीयाममा जन्मने जनाइएको छ।

झन्डै दुई घण्टा लामो बहुप्रतीक्षित अन्तर्वार्तामा मेघनपछि ह्यारी जोडिएका थिए। राजकुमार ह्यारीले आफू जिम्मेवारीबाट अलग्गिन चाहेको बताएपछि बाबु राजकुमार चार्ल्सले आफ्नो फोनसमेत उठाउन छाडेका बताए। ह्यारीले आफ्नी हजुरआमा महारानी एलिजावेथ द्वितीयासँग भने सम्बन्ध साँच्चिकै राम्रो भएको र उनीहरूले नियमित कुराकानी गर्ने बताए।

ह्यारीले आफ्ना दाइ राजकुमार विलियम र बुबा राजकुमार चार्ल्स शाही परिवारको जञ्जालभित्र बाँधिएको पनि आरोप लगाए। तर, दाइ र पितासँग सम्बन्ध सुधार गर्न चाहेको पनि उनको भनाइ छ।

३६ वर्षीय राजकुमार ह्यारीले आफ्नी श्रीमती मेघनले मिडियाबाट जातिवादको सामना गरिरहँदा पनि परिवारले तीन वर्षसम्म केही नबोलेकामा चित्त दुखाएका छन्। दरबारले आफूहरूको संरक्षण नगरेको पनि उनीहरूको गुनासो छ। उनले गत वर्षको सुरुदेखि परिवारबाट आर्थिक सहयोग कटौती भएको पनि जनाए।

सन् २०२० को मार्चमा राजकीय जिम्मेवारीबाट अलग्गिएपछि ह्यारी र मेघन आफ्नो पहिलो बच्चासहित अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् । उनीहरूले गत महिना शाही परिवारका सदस्यका रूपमा नफर्कने पनि घोषणा गरिसकेका छन्।

ह्यारी र मेघनले गत वर्ष दरबारको सुख सयल र विलासिता त्यागेर एकाएक सामान्य जीवन जिउने घोषणा गरेपछि शाही भूमिका परित्याग सम्बन्धमा महारानी एलिजावेथ द्वितीयाले लामो छलफल गरेर स्वीकृति जनाएकी थिइन् ।

राजकुमार ह्यारीको साइनो नेपाल र गोर्खा सैनिकहरूसँग निकट छ। ह्यारीले ब्रिटिस गोर्खासँग र नेपालमा धेरै समय बिताएका छन्। महाभूकम्पलगत्तै नेपाल भ्रमण गरेका राजकुमार ह्यारीले उत्तरी गोर्खास्थित प्रभातकिरण विद्यालयको पुनर्निर्माणमा समेत सघाएका थिए।

अन्नपूर्ण हिमशृंखला तथा बर्दिया राष्ट्रिय निकुञ्जको प्राकृतिक सौन्दर्य आफूले कहिल्यै नभुल्ने ह्यारीले बताउने गरेका छन्। कुनै बेला अफगानिस्तान युद्धमा सँगै रहेका ह्यारीले गोर्खा सैनिकहरूको व्यवहारबाट निकै खुसी र गर्व महसुस गर्ने गरेको बताउँछन्।