MENU

डेभनपोर्टमा डेराकै समस्या

Chhatra Shankar
Editor at Nepalese Australian

पछिल्लो समय तास्मानिया राज्यमा ‘पिआर पाथ वे’ सजिलो हुने भन्दै  नेपाली विद्यार्थीहरु तास्मानियाका विभिन्न भागहरूमा आउने क्रम जारी छ ।

Photo: Chhatra Shankar -Nepalese Australian

तास्मानिया । सिड्नी मेलबर्न जस्ता ठुला सहरमा स्थायी  बसोबास  सम्बन्धी भिसा (पिआर) दिन सङ्घीय सरकारले कडाइ गरेपछि अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीहरु अस्ट्रेलियाका ग्रामिण शहर तिर बसाइ सर्नै क्रम बढ्दो छ ।

सरकारले देशका ग्रामिण क्षेत्रहरूमा दक्ष कामदार बढाउने र त्यहाँको अर्थतन्त्र उकास्ने रणनीति लिएता पनि ग्रामिण क्षेत्रमा पर्याप्त पूर्वाधार नहुँदा बसाइ सरेर गएकाहरू विभिन्न खाले समस्यामा परेका छन् ।

पछिल्लो समय तास्मानिया राज्यमा ‘पिआर पाथ वे’ सजिलो हुने भन्दै अधिकांश नेपाली विद्यार्थीहरु तास्मानियाका विभिन्न भागहरूमा आउने क्रम जारी छ । तास्मानियाको होवार्टमा आएकाहरू भन्छन् ‘काम पाउन मुस्किल भयो,  लनसेस्टन, बर्नि र डेभनपोर्ट आएकाहरू भन्छन्, डेरा नपाएर हैरान भयौँ ।’

डेराको दुःख

केही महिनाअघि एक जोडी सिड्नीबाट डेभनपोर्टआइपुग्यो । उनीहरूलाई लाग्यो सिड्नीको जस्तै हप्ता दिन भित्रमै युनिट पाइहालिन्छ । तर यहाँ  युनिट पाउन हप्ता  त होइन महिनौँ कुर्नुपर्ने रहेछ । त्यसैले उनीहरूले महिनाको  १८ सय तिरेर एयर विएनवीमा बसे । रियल स्टेटको ढोका चहार्दा चहार्दा  एक महिनापछि दुई बेड रुमको युनिट पाए हप्ताको २ सय ८० डलरमा ।

त्यस्तै होबार्टमा कामको समस्या भएपछि चार जनाको  परिवार केही हप्ता अघि डेभनपोर्टमा आई पुग्यो । उनीहरूले पनि डेरा नपाएको नमिठो अनुभव सुनाए । उनीहरू भन्छन् डेभनपोर्टमा शेयर गरेर  बस्न नरुचाउने रहेछन् । हामीले शेयरमा बस्न पाइन्छ की भनेर धेरै प्रयत्न गर्‍यौ । तर उपाय नलागेपछि होटेलमै बस्नुपर्ला भन्दै डेभनपोर्टआयौ । होटेल सबै बुक भएका रहेछन् । त्यो रात गाडीमै बास होलाकी भन्ने डर थियो । एउटा होटेलमा रुम खालि पाएर गएको प्रति व्यक्ति रातको सय सय डलर लियो । डेरा नै नपाएपछि हामीले सात दिन त्यही होटेलमा बस्यौ उनीहरूले भने ।

Devonport City Council
Photo: Devonport City Council

अहिले पनि उनीहरूको  हरेक दिन यहाँका रियल स्टेटमा निवेदन दिन्छन् कहिले कहीँ त घर हेर्नसमेत जान्छन् । घर हेर्न गयो डेरा खोज्नेको घुइचोनै देखेपछि उनीहरूले अहिले अस्थायी बासका लागि भिलेज हाउसको एउटै कोठामा बस्न बाध्य छन् ।

डेभनपोर्टमा डेरा नपाएकाहरूको सूची निकै लामो छ । एक महिना अघि सिड्नीबाटै  बच्चा सहितको परिवार डेभनपोर्टआयो । सिड्नीमै हुँदा  स्थानीय नेपालीहरूसँग सम्पर्क गरी कोठाको चाँजो पाँजोका बारेमा कुरा भयो । तर डेमनपोर्टनै आएर युनिट नै लिने  भन्दै बच्चा सहित डेभनपोर्टओर्लिएको परिवारले न कोठा पायो न युनिट नै । हाल सो जोडी अहिले अस्थायी टहरोमा हप्ताको २ सय ८५ डलर तिरेर बसिरहेको छ ।

किन भयो डेराको अभाव

तास्मानियाको नदर्न क्षेत्रमा पर्न  डेभनपोर्टमा विशेष गरी अस्ट्रेलियनहरूकै बढी बसोबास छ । सन् २०१८ को तथ्याङ्क  हेर्नै हो भने यहाँ ३० हजार २ सय ९७  जनसङ्ख्या छ ।  यहाँ ठुला ठुला अपार्टमेन्ट त्यति देखिँदैनन् । आवासीय खालका एकै प्रकारका घरहरू बढी देखिन्छन् ।  यहाँका मानिसहरूले सिजनल फलफूल टिप्न आउने कामदारहरूलाई आफ्ना घर  भाडमा लगाउने गरेका छन् । साप्ताहिक भाडामा दिनुभन्दा दैनिक भाडमा लगाउँदा फाइदा हुने भएकाले भाडाका लागि बजारमा घर भेट्न निकै कठिन हुन्छ ।

नेपाली सोसाइटी अफ नदर्न तास्मानियाका अध्यक्ष नवराज मुडभरी भन्छन्   ‘डेभनपोर्टमा आप्रवासीहरू आउन थालेको धेरै भएको छैन विगत दुई वर्षदेखि यहाँ आप्रवासीहरू आउन थालेका हुन् । पछिल्लो समय बाहिरबाट मानिसहरू आउने क्रम बढ्दो छ । जनसङ्ख्या बढ्दै छ तर आवासका लागि नयाँ  पूर्वाधारहरू नबन्दा आप्रवासी तथा  विद्यार्थीहरुलाई   डेराको समस्या भएको हो । ‘ सम्बन्धित निकायले डेभनपोर्टको डेराको समस्या बारे बेलैमा चासो नदिने हो भने यहाँ भित्रएका आप्रवासीहरुमा निराशा पैदा हुनसक्ने अध्यक्ष मुडभरीको बुझाई छ ।

डेभनपोर्टका स्वयंसेवी सुवासको सुझाव

सिड्नीबाट चार बर्सअघि डेभनपोर्ट बसाइसरेका स्वयंसेवी सुवास मिश्र भने डेभनपोर्टआएका नेपालीहरूलाई  भइपरि आउने समस्यामा सहयोग गर्दै आएका छन् । सिड्नी र मेलबर्नबाट आउने नेपालीहरू डेभनपोर्टमा आएपछि पनि त्यहाँ जस्तै सजिलै घर र युनिट पाइन्छ होला भन्ने सोच  बनाएर  आउदा झन समस्या भएको मिश्र बताउँछन् । यहाँ युनिट तथा घर लिएका नेपालीहरूले शेयर गरेर नबस्दा डेरा पाउन समय लागेका हो ।

मिश्र  भन्छन् ‘यहाँ जागिर पाउन सकिन्छ तर भनेको बेला डेरा पाउन सकिँदैन । त्यसैले आउनु अघि यहाँको बारेमा पर्याप्त जानकारी र आर्थिक रूपमा दरिलो भएर मात्र आउनु होला । यहाँ कोठा नै नपाउने भन्ने होइन । रियल स्टेटले बजारमा भाडाका लागि घर र युनिट राखिरहेका हुन्छन् । जति घर अनलाइनमा देख्नुहुन्छ । सवैमा निवेदन  दिन नछाड्नु होस । यदि तपाँसंग जागिर छ डेरा पाउनु भएन भने यहाँ बस्ने विकल्प पनि छन् ।

तपाइले दैनिक सय दुई सय तिरेर अस्थायी रूपमा एय.विएनविमा पनि बस्न सक्नुहुन्छ । त्यहाँ तपाइलाई चाहिने सबै सुविधाको व्यवस्था छ । त्यति मात्र हैन डेरा नपाउन्जेल तपाइले क्याराभ्यानमा पनि केही समय बस्न सक्नुहुन्छ । सवाल यति मात्र हो कि भाड अलिक महँगो हुनसक्छ ।  फ्याटफ्याटमा गएर हेर्नुभयो भने त्यहाँ पनि केही कोठाहरू पाउन सकिन्छ ।’ सिड्नी र मेलबर्नबाट आउने ।

विशेष गरी  लेट्राेब , अल्भरस्टोन र डेभनपोर्टमा बढी नेपालीको बसोबास रहेको छ । यकिन तथ्याङ्क नभए एक सयभन्दा बढी नेपालीहरू यस क्षेत्रमा बसोबास गर्दै आएका छन् ।