MENU

मनोज विश्वकर्मालाई यो बर्षको ‘साताको साहित्य पुरस्कार’

सिड्नी । यस वर्षको साताको साहित्य पुरस्कार मनोज विश्वकर्माको कविता ‘सम्झनाको जंगल’लाई प्रदान गरिने भएको छ ।

साताको साहित्य डट कम मा अगष्ट २०१९ देखि जुलाई २०२० सम्म प्रकाशित भएका रचनाहरू मध्येबाट तीन उत्कृष्ट रचनाहरू एक साता अघि सार्वजनिक गरिएका थिए । जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा शरद पोख्रेलको कविता ‘भाइरस विद्रोह’ र निरज दाहालको कविता ‘म मरे भनेँ’ छानिएका थिए ।

निर्णायकहरू महेन्द्र पौडेल, सुजित सिग्देल, सञ्जिब पाण्डे, ऋषि आचार्य र निष्प्रभ सजीले बहुमतको आधारमा ‘सम्भनाको जंगल’ कवितालाई चयन गरेका हुन् ।

कवि विश्वकर्माले एक समारोहबीच केही सातापछि नगद २० हजार रुपैयाँ र ताम्रपत्र प्राप्त गर्ने साताको साहित्यका सम्पादक निष्प्रभ सजीले बताए ।

रौतहटका युवा कवि मनोज विगत पाँच वर्षदेखि कविता लेखनमा सक्रिय छन् । उनको अनुहारको भीड (संयुक्त कविता) र छकालै (संयुक्त कथासंग्रह) प्रकाशित छ । यसअघि सगरमाथा साहित्य प्रतिष्ठानले गरेको विश्वव्यापी कविता प्रतियोगिता- २०७६ मा पनि मनोज प्रथम भएका थिए ।

अष्ट्रेलियाबाट नौ वर्षअघि थालनी गरिएको साताको साहित्य पुरस्कारबाट हालसम्म सीता तुम्खेवा, नवीन प्यासी, प्राेल्लास सिन्धुलीय, बोनम प्रताप, नवराज पराजुली, मुकुन्द प्रयास, रमेश सायन र रवीन्द्र समीरका रचनाहरू पुरस्कृत भइसकेका छन् ।