MENU

अस्ट्रेलियाको लञ्चेस्टनमा नेपालीहरुले खेले देउसी भैलो (फोटो फिचर)

Tasmania, Launceston Nepalese Community Deusi Bhailo-2021
Tasmania, Launceston Nepalese Community Deusi Bhailo-2021

प्रतीक सिग्देल
तास्मानिया । विदेशी भूमिमा पनि नेपाली मौलिक कला, सँस्कृति र चाडपर्व बचाइराख्ने र त्यसलाई नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ अस्ट्रेलियाको तास्मानिया स्थित लञ्चेस्टनको नेपाली सकर क्लबले यो बर्ष पनि देउसी भैलोको आयोजना गर्यो ।

विधिवत लक्ष्मीपूजा गरी सुरु गरिएका देउसी भैलो कार्यक्रमहरुमा नेपाली भेषभूषासहित नेपाली परम्परागत शैलीमा स्थानीय नेपाली समुदायभित्र घर घरमा गएर देउसी भैलो खेलिएको थियो ।

नेपाली सकर क्लबका अध्यक्ष सन्तोष आचार्यका अनुसार लञ्चेस्टन शहरको नेपाली समुदायमा करिब तीन दिनको समयमा ६ वटा स्थानीय नेपालीका घरमा परम्परागत देउसी भैलो खेलिएको थियो ।

स्थानीय प्रशासनको नियम र सकर क्लबका सदस्यहरुको व्यस्तताका कारण सबै नेपालीका घरमा जान सम्भव नभएपनि सबैलाई पायक पर्ने ठाउँमा खेलेको र आसपासका क्षेत्रमा बसोबास गर्नेहरुलाई आमन्त्रित गरेर प्रस्तुतीहरु दिएको उनले बताए ।

नेपाली भेषभूषासहित समूह बाँधेर नेपाली शैलीमा घर घरमा गएर भट्याउने, साँस्कृतिक नृत्यहरु गर्ने, नाङ्लामा दक्षिणा र परिकारहरु देख्दा नेपालमा खेलिने भैलोमा समावेश भएको स्थानीयहरुले बताए ।

बाँसुरी, खैजडी, मादल लगायतका नेपाली परम्परागत बाजाको तालमा नेपाली परम्परागत दोहोरी शैलीमा लोक गीत गाउँदै पैसा झार्ने तरिका देउसी भैलोभरि मुख्य आकर्षणको केन्द्र बनेको थियो ।

तीन दिनको देउसी भैलोबाट क्लबले करिब ५ हजार ८ सय २२ अष्ट्रेलियन डलर दक्षिणा स्वरुप उठाएको थियो । उक्त रकम लञ्चेस्टनमा खेलकुदको विकासमा र अन्य सामाजिक कार्यक्रमहरुमा खर्च गरिने क्लबका अध्यक्ष आचार्यले जानकारी दिए ।

Tasmania, Launceston Nepalese Community Deusi Bhailo-2021
लनचेस्टनमा संचालित भाषा विद्यालयका बालबालिका र अभिभावकहरु समुहिकरुपमा देउसी र भैलो खेल्दै ।

त्यस्तै लञ्चेस्टनमा नेपाली समुदायका बालबालिकाहरुलाई नेपाली भाषा र मौलिक सँस्कृति चिनाउने उद्देश्यले स्थापना गरिएको भाषालयले पनि गत शुक्रबार बालबालिकाहरु सहितको देउसी भैलो कार्यक्रमको आयोजना गरेको थियो ।

भाषालयको इतिहासमा पहिलोपटक आयोजना गरिएको उक्त कार्यक्रममा करिब ३ बर्षदेखिका १० बर्षसम्मका नेपाली बालबालिकाहरुलाई नेपाली शैलीको परम्परागत पोशाकमा भट्याउन र देउसी रे भन्न सिकाइएको थियो । ‘साना नेपाली बालबालिकालाई भन भन भाइ हो भन्दा देउसी रे भन्न सिकाइयो भने पनि तिहारमा देउसी भैलो खेलिँदो रहेछ भनेर उनीहरुले सिक्छन्, यसरी नै त हो नि कला सँस्कृति र चाडपर्वलाई दोश्रो पुस्तामा हस्तान्तरण गर्ने,’ भाषालयकी भाइस प्रिन्सिपल सुशीला देवकोटाले भनिन् ।

उक्त कार्यक्रममा परम्परागत भेषभूषामा सजिएका करिब २० जना बालबालिकाहरु उपस्थित भएका थिए ।

त्यस्तै, नेपाली सोसाइटी अफ नर्दन तास्मानियाले पनि गत आइतबार एक कार्यक्रमको आयोजना गरेको थियो, जसमा स्थानीय नेपाली समुयादबाट उपस्थितहरु देउसी भैलो खेल्नमा रमाएका थिए ।